६ जेष्ठ २०७९, शुक्रबार । May 20, 2022

ग्लोबल

मुद्रा कोष र इक्वेडरबीच चार अर्ब डलरको सम्झौता



वासिङ्टन, १० फागुन ।  अन्तर्राष्ट्रिय मुद्रा कोषले इक्वेडरको आर्थिक नीतिमा मद्दत गर्नेगरी आगामी तीन वर्षका लागि चार अर्ब २० करोड डलर उपलब्ध गराउने भएको छ ।

उक्त लगानी सम्बन्धी सम्झौतालाई कोषको बोर्डले आगामी साता अनुमोदन गर्नेछ ।

कोषले अन्तर्राष्ट्रिय समुदायले इक्वेडरलाई तीन वर्षभित्र उपलब्ध गराउने कूल १० अर्ब डलरकै एक हिस्सा रहेको जनाएको छ । बाँकी करिब ६ अर्ब डलर सहायता दक्षिण अमेरिकी विकास बैंक, इन्टर–अमेरिकन डेभलपमेन्ट बैंक, ल्याटिन अमेरिका रिजर्भ फन्ड र विश्व बैंकले प्रदान गर्नेछन् ।

“इक्वेडर सरकारले अझ गतिशील, दिगो र समावेशी अर्थव्यवस्था निर्माण गर्ने लक्ष्य राखेको छ,” इक्वेडरका लागि मुद्रा कोषकी मिसन प्रमुख अन्ना इभानोभाले बताउनुभयो ।

इक्वेडरले अहिले करिब १० अर्ब डलरको वित्तीय घाटाको सामना गरिरहेको छ । उक्त समस्याका कारण सरकारी कर्मचारीको तलब भुक्तानी र आपूर्तिकर्ताको भुक्तानीमा ढिलाई भइरहेको छ ।

यस सम्झौताले दक्षिण अमेरिकी राष्ट्र इक्वेडरसँग कोषको तिक्ततापूर्ण सम्बन्धको अन्त्य भएको छ । सन् २००७ मा इक्वेडरका तत्कालीन राष्ट्रपति राफेल कोर्रेयाले इक्वेडरस्थित मुद्रा कोषको कार्यालय बन्द गर्नुभएको थियो ।

प्रकाशित : १० फाल्गुन २०७५, शुक्रबार ००:००