१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

साहित्य

शेरचनका केहि चर्चित कविता



घुम्नेमेचमाथि अन्धो मान्छे

दिनभरि
सुकेको बाँसझैँ
आफ्नो खोक्रोपनमाथि
उँघेर,
पछुताएर
दिनभरि
रोगी मलेवाझैँ
आफ्नो छाती आफ्नै चुच्चोले ठुंगेर,
घाउहरु कोट्ट्याएर
दिनभरि
सल्लाघारीझैँ एकलासमा
अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर
दिनभरि
पाते च्याउझैँ
धरती र आकाशको विशालतादेखि टाढा
एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर,
एउटा सानो छाताले आफूलाई ढाकेर
साँझमा
जब नेपाल खुम्चिएर काठमाडौं
काठमाडौं डल्लिएर नयाँ सडक
र नयाँसडक– असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर,
टुक्रिएर,
अखबार, चिया र पानको पसल बन्छ
किसिम–किसिमका पोशाकमा
ओहोर–दोहोर गर्छन् थरीथरीका हल्लाहरु्
फुलपारेको कुखुराझैँ कराउँदै
हिंड्छन् अखबारहरु
र ठाउँ–ठाउँमा अन्भकार पेटीमा उक्लिन्छ
मोटरहरुको प्रकाशकदेखि तर्सेर
अनि असङ्ख्य मौरीको भुनभुन र डसाइदेखि आत्तिएर
म उठ्छु
न्यायको दिनमा प्रेतात्माहरु उठेझैँ
र नपाएर विस्मृतिको लेथे नदी
रक्सीको गिलाँसमा हाम्फाल्छु
र बिर्सन्छु आफ्नो पूर्वकथालाई
पूर्वजुनि र मृत्युलाई
यसरी नै सधैँ
चियाको किटलीबाट एउटा सूर्य उदाएँछ,
सधैँ रक्सीको रित्तो गिलाँसमा एउटा सूर्य अस्ताउँछ
घुमिरहेकै छ प बसेको पृथ्वी– पूर्ववत्
फगत म अपरिचित छु
वरिपरिका परिवर्तनहरुदैखि,
दृश्यहरुदेखि,
रमाइलो देखि,
प्रदर्शनीको घुम्ने मेचमाथि
करले बसेको अन्धो जस्तै।

(२०१८–रुपरेखा)

शहीदहस्को सम्झनमा

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फासीको माला गाँसी वीरले हास्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्ररन्न बोट कसैले बीउ छरेर नगए
हामीले खाने प्रत्येक गांसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा धडकन छ शहीदको
हाम्रा खुशीकाृ प्रत्येक पलमा जीवन छ शहीदको
पाउने थिएनौ खुशी तिनले छाडेर नगए
हामीले  आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपूत मरेर नगए!
(२०१९–रचना)

हो–चि–मिन्हलाई चिठी

आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुछ्रे हिमालको छायामा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा हिमाल मानेर ।
अहिले तिमीलाई यो चिठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको छ कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धुवाँझैं
बिस्तरी-बिस्तरी उठेर
मेरो अगाडी उभिरहेछ
तिम्रो बुढो र पातलो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर ।
र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ – ‘लेते खोला’
तिमी जस्तै शान्त र दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ
वरिपरिका ठुल्ठुला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
र बाढी थामिएपछी
त्यसलाई छेक्न खोजेका घमण्डी पहराहरुले
आफुलाई भत्केको, भास्सिएको र चोइटिएको पाउंछन्
मेरो ‘लेते खोला’ !
म ढुक्क छु
तिम्रो बाढीले पनि मिल्क्याउनेछ
ती डलरका कात्रो बोकेर
तिम्रो देशमाथि आइलागेका बर्बरहरुलाई ।
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरुको बिचमा सिमरेखाहरुले
मलाई तिमीसंग बेग्ल्याए तापनि
यी सबभन्दा माथि जहाँ चेतना छ
यो सबभन्दा माथि सच्चा जहाँ मुटुको ढुकढुकी छ
त्यहाँ मा तिमीसंग छु
र युद्धमा परेको छु
तिम्रो प्रत्येक घरको भत्काईमा म बेघर भएको छु
तिम्रो प्रत्येक पूलको टुटाईमा म टुटेको छु
तिम्रो प्रत्येक गोल-गोल मंगोल अनुहार भएकी
आइमाइको बेईज्जतीमा
मैले आफ्नी पत्नी र दिदि-बहिनीहरुलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्ध-बिहारको विध्वंसमा
मैले आफ्नो स्वयम्भुको ज्ञानचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको बमवर्षाको छिर्का
मैले आफ्नो धरहरामाथी परेको अनुभव गरेको छु
र बमवर्षाका रातहरु
मैले पनि जागरणका ट्रेन्चहरुमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
वरिपरी मुढाहरु दन्किरहेको बेलामा !
यी सबभन्दा बर्ता
यी सबभन्दा माथि
मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु
र तिम्रो सानो देशको ठुलो आत्माबाट
मैले आफ्नो सानो सानो आत्माभित्र
एउटा ठुलो ज्योति सल्केको पाएको छु
हनोइमाथी होइन, मान्छेमाथि बम हो,
र मैले तथा मजस्तै
सारा मानिसहरुले ती बमहरुलाई
आफूमाथि पड्केको भन्ठानेका छौं
मेरो कमरेड !
मेरो हिमाल !
मेरो ‘लेते खोला’
विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन
जसरी डढेलोमा रुखहरु डढ्छन
तर मानवता कहिल्यै मर्दैन
त्यो फेरी पलाउँछ
डढेलो पछी उम्रिने असंख्य च्याउहरुजस्तै
आशिर्वाद जस्तो सिरानीमा उभिएको
माछापुछ्रेको छायामा उभिएर
प्रतिज्ञाजस्तो वारिपी दृढ उभिएका पहाडहरुलाई
हातेमालो गरेर
म किरिया हाल्ने सामर्थ्यमा छु
जीत तिम्रो हुनेछ
जीत हाम्रो हुनेछ
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोंगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ ।

भूपि शेरचन

केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुन: लेख्छन्
पुन: हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपि’ शेरचन !!

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार ००:००