१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

ग्लोबल

माल्दिभ्सका पूर्व राष्ट्रपति गयूमलाई अनियमितताको अभियोग



माले, २४ माघ । माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्लाह यमिन अब्दुल गयूमलाई अनियमितातको अभियोग लगाइएको छ ।
उहाँलाई माल्दिभ्सको प्रहरीले आर्थिक अपचलनसम्वन्धी अभियोग लगाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।
माल्दिभ्स लोकतान्त्रिक पार्टीका हमिद अब्दुल घाफुरले ट्वीट गर्दै गयूमलाई चोरी, घुस र आर्थिक अपचलनसम्वन्धी ठूलो अभियोग लगाइएको उल्लेख गर्नुभएको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार माल्दिभ्सको प्रहरीले महान्याधिवक्ताको कार्यालय मार्फत् उहाँ विरुद्धको मुद्धा दर्ता गरेको हो ।
मुद्दा दर्ता भएपछि प्रहरीले पूर्व राष्ट्रपति गयूमविरुद्धमा अनुसन्धान सुरु गर्न लागेको श्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
अनुसन्धान अधिकारीहरूले उहाँ विरुद्धका विवरण प्रहरी कार्यालयमा दर्ता गराईरहेका छन् । उहाँ राष्ट्रपति भएका बेला भएका अनियमिततासम्वन्धी विवरणहरू विभिन्न तरिकाबाट संकलन भइरहेको अधिकारीहरुले बताएका छन् ।
नयाँ राष्ट्रपति इब्राहिम सोलिह नेतृत्वको सरकारले गत महिना एक वक्तव्य जारी गर्दै पूर्व राष्ट्रपति यमिनको कार्यकालमा भएका अनियमितता वा राज्य शक्तिको दुरुपयोगसम्बन्धी कुनै विवरण वा प्रमाणहरू भएमा उपलब्ध गराउन आह्वान गरेको थियो ।
यमिनले वा यमिनको मन्त्रीपरिषद्का सदस्यहरूमध्ये जोसुकैका बारेमा पनि विवरणहरु दिन वक्तव्यमा आग्रह गरिएको थियो ।
वक्तव्यमार्फत् गरिएको आह्वान अनुसार प्राप्त अनियमिततासम्वन्धी केही विवरणहरू राष्ट्रपतिको कार्यालयले गत जनवरीको सुरुवाती दिनमै सार्वजनिक गरेको थियो ।
गत सेप्टेम्बर २३ मा भएको निर्वाचनबाट सोलिह राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । अहिले भ्रष्टाचारको अभियोग लागेका पूर्व राष्ट्रपति यमिनले भने निर्वाचनमा धाँधली भएको भन्दै सुरुमा मतपरिणाम अस्वीकार गर्नुभएको थियो । तर अदालतको फैसलापछि मात्रै उहाँले आफ्नो पराजयलाई स्वीकार गर्दै राष्ट्रपतिको पद हस्तान्तरण गर्नुभएको थियो ।
यमीनले यसअघि सन् २०१३ मा सोही अदालतमा आफ्नो पदीय प्रभाव पार्दै प्रतिपक्षी उम्मेदवारको मतभन्दा सामान्य बहुमत पुष्टि गर्दै निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याएको दावी छ । त्यसपछि आफ्नो विरोधमा उभिने सशक्त प्रतिपक्षीलाई जेल पठाउने र देश निकाला गर्नेजस्ता निर्णय लिँदै कडा शासकका रूपमा प्रस्तुत हुनुभएको थियो ।
सानो एशियाली मुलुक माल्दिभ्समा पछिल्लो समय प्रतिशोधको राजनीति हावी भएको देखिएको छ ।

प्रकाशित : २४ माघ २०७५, बिहिबार ००:००