१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

अध्यक्ष दाहालद्वारा पण्डित प्रति श्रद्धाञ्जलि



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका दिवङ्गत वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको पार्थिव शरीरमा पुष्पहार चढाइ श्रद्धाञ्जलि अर्पण गरेको छ ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज अध्यक्ष दाहालले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेको हो । सो क्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता सुवास नेम्वाङलगायत नेता तथा कार्यकर्ताले उहाँको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइ श्रद्धाञ्जलि अर्पण गरे ।

फागुन २१ गते नुवाकोटको एक पूजा कार्यक्रममा सरिक हुन जाने क्रममा हृदयघातबाट गम्भीर घाइते भएका ७२ वर्षीय पण्डितको उपचारका क्रममा निधन भएको थियो । दिवङ्गत नेता पण्डितका जीवनसङ्गिनी सावित्रीसहित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचना छन्।

उहाँ पुष्पलाल स्मृति प्रतिष्ठानका केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उहाँ असल शिक्षक र सङ्गठकका रूपमा परिचित थिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेको थियो । पछिल्लो समय उहाँ पार्टीमा निष्क्रिय भएको थियो ।

आफ्नै परम्परा र संस्कृतिअनुसार उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।

प्रकाशित : २३ फाल्गुन २०७५, बिहिबार ००:००