२२ बैशाख २०८१, शनिबार । May 4, 2024

समाचार

पाँचथरमा जन्मेकी कल्पना , विश्वलाई नेपाली ढाका चिनाउँदै (भिडियो)



लक्ष्मण गजुरेल

काठमाडौँ । कल्पना योङहाङ र नेपाली ढाका एक अर्काको पर्याय जस्तै बनेको छ । उनीको जन्म २०१९ सालमा पाँचथरको थर्पुमा भएको हो । गाउँको सामान्य परिवारमा जन्मेकी कल्पना योङहाङले नेपाली ढाकालाइ विश्व बजारमा चिनाउन असामान्य प्रयत्न गरिरहेकी छिन् । कल्पना योङहाङले ढाका उद्योग स्थापित गर्न गरेको संघर्ष कहाली लाग्दो छ । तर त्यहि मेहनत र संघर्षबाट आज सयाँैलाई रोजगार दिन सफलता मिलेको कथा तपाई हामी जो कोहीलाई उतिकै रोमाञ्चक लाग्छ । सफलता न आकाशबाट बर्षिन्छ न त जमिनबाट नै उम्रिन्छ, सफलता त कर्मशील हातबाट जन्मिन्छ ।
सामान्य तान बुन्ने कल्पना योङहाङ निरन्तरको लगाब र मेहनतले अहिले उद्यमी मात्र नभएर ढाका कपडा डिजाइनको विषयमा अन्वेशकको रुपमा समेत स्थापित भएकी छिन् । १० हजार घण्टा भन्दा बढी अध्ययन गरिसकेकी उनको अध्ययनले अझै निरन्तरता पाई रहेको छ ।
ढाका उद्योगलाई स्थापित गर्न उनले तान मात्र बुनेनन् । तानसंगै बुनिन् सयाँै शुभेच्छुकहरुसंग आत्मिय सम्बन्ध । कल्पना योङहाङको उद्योगको उत्पादन रुचाउने सम्माननीय राष्टपति विद्यादेवी भण्डारी देखि देशविदेशका सेलीब्रेटी, नेता कलाकार, साँस्कृतिक अभियन्ताहरुको ठूलो फेहरिस्त छ । जसले उद्योगलाई अन्तराष्टिय रुपमा समेत स्थापित गर्न बल पुगेको छ ।
एउटा तानबाट सुरू भएको उनको कम्पनी अमेरिकाको टेक्सासस्थित टिसा कम्पनीसँग समेत जोडिएको छ। कल्पनाले आफ्नो बुटिकको शाखा पोखरामा समेत खोल्ने तयारि गरिरहेकि छिन् ।
प्रविधिसंग उतिकै अपडेट हुने कल्पना अहिले युवायुवतीले खुबै रुचाएको एप टिकटकमा सक्रियता यतिकै छ । नयाँ डिजाईन र प्रोडक्ट बारे टिकटकमा अपडेट हुन्छ ।
१५ हजार रूपैयाँ ऋण काढेर सुरू गरेको व्यवसायमा साढे ४ करोड लगानी भएको कल्पना स्विकाछिन्।

कल्पनाले डिजाइन गरेको कोटमा कलाकार केदार घिमिरे देखि पुर्व मिस नेपाल सृखंला खतिवडा समेत सजिएका छन् । उनको जिवन भोगाइ र नेपाली ढाका कपडालाइ राष्ट्रिय कपडाको रुपमा प्रयोग गर्ने र धेरैलाइ रोजगारि दिने सपनासम्मको विषयमा एभरेष्ट विक टिमले गरेको विशेष भलाकुसारी ।

प्रकाशित : २२ फाल्गुन २०७७, शनिबार ००:००