२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

समाचार

प्रहरी महानिरीक्षक ज्ञवालीसहित तीन वरिष्ठ प्रहरी अधिकृतको विदाइ



काठमाडौं २४, असार । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित तीन जना वरिष्ठ प्रहरी अधिकृतको विदाइ भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज (बुधबार) ज्ञवालीसहित प्रहरी अतिरिक्त महानिरीक्षक तारिणीप्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलाई विदाइ गरेको हो।

विदाइ समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक ज्ञवालीले तीस वर्षे सेवा अवधि पूरा गरेर सेवा निवृत्त हुँदा प्रहरी संगठन र नवनियुक्त प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीप्रति आभार प्रकट गरे।

उनले आफ्नो छोटो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरूको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मुल्याङ्कन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरूको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए।

कोरोना भाइरसको विश्वव्यापी संक्रमणको प्रकोपको कारण राज्यसँगै प्रहरीको प्राथमिकता र कार्यशैलीले अनपेक्षित मोड लिन बाध्य भएतापनि आफ्नो दृष्टिकोणलाई डगमगाउन नदिइ संगठनमा प्रहरी कर्मचारीको वृत्ति विकासलगायतका विविध सुधारका पक्षलाई गति दिएको पनि ज्ञवालीको दाबी छ।

कार्यक्रममा नवनियुक्त प्रहरी महानिरीक्षक थापाले सेवा निवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई दीर्घ सेवा सम्मान प्रदान गर्दै राष्ट्र, नागरिक र संगठनप्रति पुर्याएकाे योगदानका लागि नेपाल प्रहरीको तर्फबाट कृतज्ञता व्यक्त गरे।

तस्बिर साैजन्य : प्रहरी प्रधान कार्यालय

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००