३ जेष्ठ २०८१, बिहिबार । May 16, 2024

खेलकुद

१३ औं दक्षिण एसीयाली खेलकुद अन्तर्गत भलिवल खेल आजवाट



मंसिर ११, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदको औपचारिक उद्घाटन हुनु भन्दा चार दिन अघि नै भलिवल प्रतियोगिता भने आजवाट सुरु हुने भएको छ । १३ औं दक्षिण एसीयाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १५ मा हुने कार्यक्रम रहेको छ ।

बुधबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।
भारतबाहेकका प्रतियोगी देशका टिमहरू नेपाल आइसकेका छन् । भारतले महिला तथा पुरूष भलिबलमा सहभागिता जनाउने विषय अझै टुंगो लाग्न बाँकी छ ।

नेपालले आफ्नो समूहको पहिलो खेलमा बुधबार बंगलादेशसँग खेल्ने तालिका छ । दुई साताअघि बंगलादेशमा भएको एभीसी सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा गोल्ड मेडल जितेको नेपाली महिला भलिबल टिमले त्यसको खुसी मनाउन नपाउँदै घरेलु कोर्टमा १३ औं साग खेल्न लागेको हो । महिला टोलीलाई सेन्ट्रल जोनको उपलब्धिलाई जोगाउनु पनि छ ।

त्यसैले घरेलु कोर्टमा खेल्दा उत्साह र दबाव दुवै रहेको महिला टिमका कप्तान अरुणा शाहीले बताइन् । घरेलु मैदानमा खेल्न पाउँदा सबै जना उत्साहित छौं’, अरुणा भन्छिन्, ‘सेन्ट्रल जोन जितेर आएकाले उत्साहसँगै दबाव पनि महसुस भइरहेको छ ।’

घरेलु मैदानमा हुने खेलमा दर्शकको सकारात्मक तथा नकरात्मक दुवै खालको समर्थन प्राप्त हुने विश्वास शाहीको छ ।

१३ औं सागकै तयारीस्वरूप नेपालले करिब ३ साता थाइल्याण्डको बैंककस्थित फिभ भलिबल डेपलपमेन्ट सेन्ट्रमा ट्रेनिङ गर्नुका साथै मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसपछि बंगलादेशमा सेन्ट्रल जोन खेलेको पनि खेलाडीमा एक्पोजर मिलेको अरुणाको भनाइ छ ।

‘थाल्याण्डमा तालिमका साथै सबै खाले टिमसँग खेल खेल्यौं । जसले गर्दा टिममा खेलको स्पिड पनि बढेको अनुभव भइरहेको छ’, अरुणाले भनिन्, ‘त्यहाँ विपक्षीको खेल हेरेर पनि धेर कुरा सिक्न पाइयो ।’

प्रकाशित : ११ मंसिर २०७६, बुधबार ००:००