२० बैशाख २०८१, बिहिबार । May 2, 2024

पर्यटन

कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने



लक्ष्य लिएसँगै यसका लागि आन्तरिक गृहकार्य सुरु भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनका क्रियाकलापमार्फत सन् २०२० भित्र एक लाख विदेशी पर्यटक भित्र्याउने योजनाका साथ अघि बढाइएको जानकारी दिइएको छ ।

भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन गरी कार्ययोजना निर्माणमा जुटिरहेको उहाँले बताउनुभयो । मन्त्री बुढाको अध्यक्षतामा गठित समितिमा आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, पर्यटन व्यवसायीलगायतको प्रतिनिधित्व रहेको छ ।

कर्णालीमा पर्यटनको अथाह सम्भावना रहेको भन्दै उहाँले सरकार र निजी क्षेत्र मिलेर पर्यटन विकास गर्न सके प्रदेशको विकासमा टेवा पुग्ने धारणा राख्नुभयो । रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, त्रिपुरासुन्दरी, पञ्चकोशी, सिञ्जा, काँक्रेविहारलगायतका क्षेत्र विदेशी पर्यटकका लागि मुख्य गन्तव्य रहेका छन् ।

कार्यक्रममा भ्रमण वर्ष २०२० का सहसंयोजक राजु कार्कीले कर्णालीका पर्यटकीयस्थललाई विश्व बजारमा प्रचार–प्रसार गर्न नसकेको बताएका छन् । “सरकारले मुख्य पर्यटकीय गन्तव्यसम्म सहज यातायातको पहुँच निर्माण गरिदिएको छैन”, कार्कीलले भने , “पर्यटन क्षेत्रको भौतिक विकास जबसम्म हुँदैन, तब पर्यटनबाट समृद्धि हासिल गर्न सम्भव छैन ।” पर्यटन उद्योगमा गरिएको लगानीले तत्काल प्रतिफल आउने हुँदा यस क्षेत्रमा लगानी गर्न सरकार र निजी क्षेत्र हिच्किचाउन नहुने विचार व्यक्त गरेका थिए ।

प्रकाशित : ६ मंसिर २०७६, शुक्रबार ००:००