५ जेष्ठ २०८१, शनिबार । May 18, 2024

खेलकुद

कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानलाई



पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित ठाढी घाटमा मङ्गलबार आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानले हात पार्न सफल भएका छन् । प्रथम पुरस्कारका लागि भएको सो प्रतियोगितामा भारतकै आरबिन्द पहलवानलाई हराउँदै बप्पीले प्रथम हुन सफल भएका हुन् ।

त्यस्तै द्वितीय पुरस्कारका लागि भएको प्रतिस्पर्धामा भारतकै शमशेर पहलवान (वनारस)ले ९ विष्णु पहलवान (गोरखपुर)लाई पछि पारेका थिए । तृतीय पुरस्कार भने दुई कुस्तीबाजले प्राप्त गरेका थिए । भारतकै पवन पहलवान हाटा र गोल्डेन पहलवान कमासी बीच भएको प्रतिष्पर्धा बराबर हुँदा दुवैलाई संयुक्त विजेता घोषित गरिएको थियो ।

उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कूल २९ जोडीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको उद्घाटन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं १ (ख)का प्रदेशसभा सदस्य अजयबहादुर शाहीले गर्नुभएको थियो । ठाडीघाटमा कार्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष सो प्रतियोगिता हुँदै आएको र त्यसमा नेपाल र भारतका कुस्तीबाजले सहभागिता जनाउँदै आएका छन् ।

प्रकाशित : २७ कार्तिक २०७६, बुधबार ००:००