२० बैशाख २०८१, बिहिबार । May 2, 2024

समाचार

किरात प्रदेशमा जोड गर्न वक्ताहरुको सुझाव

किरात बाहेक स्वीकार्य छैन : प्राडा न्यौपाने



सुनसरी । प्रदेश नम्बर १ को नाम किरात राख्न निरन्तर प्रयास गर्नुपर्ने वक्ताहरु बताएका छन् । शनिबार सुनसरीको इटहरीमा किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले आयोजना गरेको प्रदेश नम्बर १ को नाम किरात सम्बन्धी अन्तरक्रिर्या कार्यक्रममा विभिन्न पार्टीका नेता तथा प्रदेश सांसदहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तथा पार्टी सम्बद्ध आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय संयोजक शुरेस आलेमगरले सातैवटा प्रदेशको नाम पहिचानको आधारमा अधिकार आउनुपर्ने बताएका छन् । जनताको चित्त प्रशन्न नभएको अवस्थामा देशमा संमृद्धि आउन नसक्ने भन्दै प्रदेश नम्बर ४ को नाम गण्डक त्यहाँको जनताले स्वीकार नगर्ने बताए । सबै प्रदेशको नाम पहिचानको आधारमा आउनुपर्ने र १ नम्बरमा किरात हुनुपर्ने मगरको भनाइ थियो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश सचिवसमेत रहेका संघीय सांसद शुरेसकुमार राई (हिमाल)ले पार्टीको १ नम्बर प्रदेशको पार्टी हेडक्वाटरले पहिचानको आधारमा नाम राख्न पहल गरिरहेको बताए । अधिकारसहितको प्रदेशको नाम पहिचानको आधारमा राख्न झापा, मोरङ र सुनसरी केन्द्रित आन्दोलन गर्नुपर्ने बताए ।

नेकपाको प्रदेश सदस्य तथा पार्टी सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाको केन्द्रीय अध्यक्ष मुकेस मेयाङ्वो(मुक्साम)ले किरात सभ्यता लिम्बुहरुको पनि रहेको तर्कराख्दै प्रदेशको नाम किरात मात्र वा किरात, लिम्बुवान, कोशिलामा कोशीसम्म जोडेपनि फरक नपर्ने विचार राखेका छन् । पहिचानको आधारमा नाम प्रदेशको संमृद्धिको लागि भएको तर विखण्डनको लागि हुन नहुने बताए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(लिम्बुवान)को संसदीय दलको नेता विस्णु तुम्बाहाम्फेले किरात प्रदेशको नाम कुरा उठाउँदा लिम्बुवान आन्दोलनलाई भुल्न नहुने बताए । यायोक्खा केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर राईले प्रदेशको नाम किरात पहिचानकै आधारमा राखिनुपर्ने अडान राखे ।

लेखक/पत्रकार भवानी बरालले प्रदेशको नाम किरात राखिनुपर्ने बारे कार्यपत्र प्रस्तुत गरेका थिए । व्राह्मण कुलमा जन्मेर किराती सभ्यतामा हुर्केको हँुः प्राडा न्यौपाने कार्यक्रममा प्रध्यापक डा.टंक न्यौपानेले प्रदेशको नाम किरात बाहेक अर्को स्वीकार्य नहुने बताए । न्यौपानेले प्रदेशको ना किरात रहिसक्ने तर्क गर्दै लिम्बूहरुले अवरोध गर्नु नहुने बताए ।

आफू व्राह्मण कुलमा जन्मेर पनि किराती सभ्यतामा हुर्केको कारण प्रदेशको नाम किरात राख्दा सवैभन्दा साझाहुने डा.न्यौपानेको तर्क थियो । कार्यक्रममा प्रदेश सभा सदस्यहरु अर्जुन राई, सीता थेबे, उमिता बराइली, नारायण बुर्जा मगर, नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश अध्यक्ष धुर्ब सुब्बा, किरात याक्थुङ चुम्लुङ केन्द्रीय सचिव योगेन्द्र पालुङ्वा, धरान नगरपालिको पूर्व प्रमुख बम देवान लगायतले बोलेका थिए ।

मोर्चाको केन्द्रीय अध्यक्ष राजन किराती (बासु)को सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अशोक राईले स्वागत र महासचिव अर्जुन किरातीले सञ्चालन गरेका थिए । सम्पूर्ण वक्ताहरुले प्रदेशको नाम किरात राख्न दवाव आन्दोलन आवश्यक रहेको बताएका थिए ।

पहिचानको आधारमा नाम राख्न राई, लिम्बू लगायतको समुदायको एकता आवश्यक रहेको सुझाव दिएका थिए । किराती मोर्चाले प्रदेशको नाम किरात राख्नको लागि निरन्तर, अन्तरक्रिया, छलफल तथा दवाव कायम राख्ने योजना गरेको महासचिव किरातीले बताए ।

प्रकाशित : ४ आश्विन २०७६, शनिबार ००:००