२० बैशाख २०८१, बिहिबार । May 2, 2024

बिचार

प्राचीन मानव सभ्यता र चिहानवीचको सम्बन्ध



 

लेखक भीम केरुङ

मानव जीवनमा मृत्यु संस्कार अन्तिम संस्कार भएकोले यो अभिन्न र महत्त्वपूर्ण हुन्छ । मानिसको मृत्युु भएपछि अन्त्येष्टि गर्ने परम्परागत विधिमा लासलाई जलाउने र जमिनमा गाड्ने यी दुई व्यवहारमा प्रमुख छन् । समयको विकासक्रमसँगै अन्तिम संस्कार विधि पनि परिस्कृत बन्दै गएको छ । दाहसंस्कारका  लागि केही खोलानदी किनारमा शवदाह गृहहरूको निर्माण राज्यस्तरबाट भएपनि पर्याप्त, समयसापेक्ष हुन सकेको छैन । नेपाल सरकारको ११ करोड अनुदानमा पशुपति क्षेत्र विकास कोषले सन् २०१६ देखि विद्युत् शवदाह गृह (Electric Crematorium Building) निर्माण गरी संचालनमा ल्याएको छ । पर्यावरणीय महत्त्वको हिसाबले पनि यो कार्य राम्रो हो । लासलाई जमिनमा गाड्ने परम्परालाई पनि समयसापेक्ष व्यवस्थित गर्न राज्यको भूमिका आवश्यक भइसकेको छ ।

This image has an empty alt attribute; its file name is F475GuqmZgBboBYaWPxj0TWxV6Gw4j7qTnyamKCE0DlhIQAUY7SHBFGFu23TuYYp7tKn6PvQ0TM9VtFxKZLWX5Zwv5T6Uh5WniSMWzGiCuInsPX5wJL2UDF-8ulTJVbCADvDQ4z6
झापा कमल-५ सितापुरीमा रहेको संरक्षणविहीन समाधिस्थल (चिहानघारी) 

विकास र आधुनिकताको नाममा पुरातात्त्विक महत्त्वका वस्तु र स्थलहरूसमेत नष्ट हुनेक्रम जारी छ । सन् २०११ मा धनकुटाको भेडेटार ७ स्थित नाम्जेको मानव बस्ती नजिकै रहेको थुम्किडाँडाका २ सय १३ चिहान हटाउने काम भयो । उक्त ठाउँमा मगर समुदायले शताब्दीदेखि आफ्ना मृत परिवारका सदस्य समाधिष्ट गर्ने थलोका रूपमा प्रयोग गर्दै आएका थिए । एउटा आकर्षक आत्मा चौतारो निर्माण गर्ने उदेश्यले चिहानबाट सबै मानव कंकाल हटाइयो । 
झापा जिल्लाको कमल-५ पाडाजुंगी पूर्व, लखनपुर खानेपानी कार्यालयसँगै रहेका ७ सय ४५ भन्दा बढी आदिवासीका चिहान (समाधि) डोजर लगाई नष्ट गरियो । सन् २००९ मा यतिको ठूलो संख्यामा एकैसाथ एकैस्थानको चिहान नष्ट गरिएको सायद नेपालको इतिहासमा यो नै पहिलो हो । अहिले पनि उक्त स्थानमा निर्माणाधीन रंगशालाको नामको विषय विवादित छ । समाधिस्थल नष्ट गर्नुपूर्व सरकारपक्ष र दलीय प्रतिनिधिसहित सरोकारवालाहरूबीच रंगशालाको नामांकनमा राजीभएपछि मात्र दिवंगत पुर्खाका सन्ततिहरू चिहान भत्काउन सहमत भएका थिए । प्रारम्भिक सहमतिअनुसार उक्त ठाउँमा ‘आदिवासी रंगशाला’ नामक एउटा सुविधासम्पन्न रंगशाला निर्माण गर्ने सहमति भएको थियो । आदिवासी रंगशाला बनाउने सहमति भएपनि सोही नामबाट रंगशाला बन्ने विषय ओझेलिएको छ । 

झापा जिल्लाको कमल-५ पाडाजुंगी पूर्व, लखनपुर खानेपानी कार्यालयसँगै रहेका ७ सय ४५ भन्दा बढी आदिवासीका चिहान डोजर लगाई नष्ट गरियो । सन् २००९ मा यतिको ठूलो संख्यामा एकैसाथ एकैस्थानको चिहान नष्ट गरिएको सायद नेपालको इतिहासमा यो नै पहिलो हुन सक्छ


जनसंख्याको घनत्व र पर्यावरणीय महत्त्वको हिसावले पनि राज्यस्तरबाट र स्वयं समुदायले पनि अपनाउनु पर्ने कतिपय विषयमा हामी अनभिज्ञ छौँ । हिजो जनसंख्या कम हुँदा समाधिस्थलहरूको धेरै समस्या थिएन । बदलिँदो परिस्थितिसँगै मानवीय आवश्यकताहरू पनि असीमित बन्दै गएका छन् । समस्या आउन नदिनेतर्फभन्दा पनि समस्या आइसकेपछि मात्र हामी समाधान खोज्नेतर्फ लाग्दा धेरै कुरा बिग्रिसकेको हुन्छ । अर्कोतर्फ लासलाई जमिनमा पुर्ने परम्परा भएका समुदायलाई जमिनको अभावमा लासलाई जलाउनू भनेर राज्यले भन्न सक्दैन र त्यसैगरी जलाउने परम्परा भएकालाई पनि पुर्नू भन्न सक्दैन । अन्ततः यी दुबै परम्परागत अन्तिम संस्कार विधिलाई राज्यले समयानुकूल व्यवस्थित गर्नसक्ने विकल्प मात्र छ । समय-समयको राजनीतिक परिवर्तनपछि पनि लामो समयदेखि उत्पीडनमा परेका वर्ग समुदायले हार्ने श्रृङखला अझै रोकिएको छैन । यसको मत्लब एउटाले हार्ने र अर्कोले जित्नुपर्छ भन्ने पक्कै होइन । विकास, अवसर र सुखी जीवनको हिस्सेदार सबै नेपाली समानान्तर ढङ्गले हुनसकुन् भन्ने हो । 

सरकार र समुदायले अपनाउनुपर्ने पाँच महत्वपूर्ण कुराहरू :

१.पुरातात्त्विक तथा सांस्कृतिक महत्व प्रतिबिम्बित हुने कुनै पनि समाधि, समाधिस्थल नष्ट गर्नुहुँदैन । 
२. सबै समुदायको संस्कार, संस्कृति संरक्षण र सम्बर्द्धनमा सरकार साझा अभिभावकीय जिम्मेवारीमा उभिनुपर्छ ।
३. सरकार र समुदायको गहन अध्ययनपश्चात् निश्चित-निश्चित क्षेत्रमा सरकारबाट पर्याप्त समाधिस्थलहरू तोकिनुपर्छ ।
४. समुदायले पर्यावरणीय तथा जनसंख्याको घनत्वलाई मध्यनजर राखी एक समाधिमा कपुरथान बनाउदा सिमेन्टको ठूलो ठाउँ ढाक्ने गरी, आफूलाई जहाँ जत्रो मन लाग्यो उत्रो बनाउने परिपाटीको तत्काल अन्त हुनुपर्छ ।
५. चिहान तत्कालीन मानव सभ्यताको खोज अनुसन्धानको एउटा प्रमुख स्रोत सावित हुँदै आएकोेले समाधिस्थलक्षेत्र सरकारद्वारा व्यवस्थित एवम् संरक्षित अवस्थामा हुनुपर्छ, साथै यो विषयमा समुदाय पनि जागरुक हुनुपर्छ ।

बदलिँदो परिस्थितिसँगै मानवीय आवश्यकताहरू पनि असीमित बन्दै गएका छन् । समस्या आउन नदिनेतर्फभन्दा पनि समस्या आइसकेपछि मात्र हामी समाधान खोज्नेतर्फ लाग्दा धेरै कुरा बिग्रिसकेको हुन्छ ।

चिहानले खोलेको रहस्य :

मानव सभ्यताबारे बुझ्न चिहानहरू निक्कै उपयोगी मानिन्छन् । मानव कङ्काल (Skeleton) बाट मानिसको मृत्युको कारण, नस्ल, समय र त्यहाँ भेटिने माटाका मूर्ति, भाँडाकुँडा, मुद्रा र बहुमूल्य पत्थरका गरगहना लगायतका वस्तुहरूबाट तत्कालीन मानव सभ्यताका थुप्रै निस्साहरू भेट्न शोधकर्ताहरू सफल भएका छन् । सन् २०१६ मा भारत र दक्षिण कोरियाका पुरातत्त्वविद् र वैज्ञानिकहरूले उत्तर भारतीय राज्य हरियाणाको राखीगढी गाउँमा दुर्लभ अस्थिपञ्जर फेला पारेका थिए । समाधिस्थलमा गाडिएका ती एक महिला र पुरुषको कङ्कालले झण्डै ४५ सय वर्षअघिको प्राचीन हडप्पा नगरको सभ्यता बारे थुप्रै रहस्यहरू खोलेका थिए । विश्वको प्राचीन सभ्यताहरुमध्ये एक प्रमुख सभ्यता मानिन्छ, सिन्धु घाटीको सभ्यता (३३०० ईसापूर्वबाट १७०० ईसापूर्वसम्म) । सिन्धु घाँटीको सभ्यतामा दुई प्रमुख सहर हडप्पा र मोहनजोदाडोलाई चिनिन्छ ।

करिब ४५०० वर्षअघिको मानव कंकाल । 

‘Early Indians: The Story of Our Ancestors and Where We Came From’ नामक पुस्तकका लेखक टोनी जोसेफका अनुसार “हडप्पाका चिहानहरूको विशेषता भनेको तिनको सरलता हो । पश्चिम एशियाका राजाहरूको जस्तो उनीहरू भव्य चिहान बनाउँदैनथे ।” प्राचीन मेसोपोटामियामा राजाहरूलाई चिहानमा गाड्दा बहुमूल्य गहना र अन्य सामग्रीसहित गाडिन्थ्यो । संभवत: हडप्पाबाट निर्यात गरिएका बहुमूल्य पत्थरबाट बनेका गहनाहरू मेसोपोटामियाका चिहानमा भेटिएका थिए । सन् १९२० को दशकमा हडप्पाको अवशेष भेटिएको थियो । सन् १८२६ मा सर्वप्रथम चाल्स मासोनले यो पुरानो सभ्यताको खोजिगरेका थिए । हडप्पाको नगरमा भेटिएका चिहानहरूमा भाँडाकुँडा, खाद्यपदार्थ र केही गहनाहरू पनि थिए । त्यहाँका मानिसहरू पनि सम्भवत: मृत्युपछि पनि जीवन हुन्छ भन्ने विश्वास गर्थे र ती सामग्रीहरू चिहानमा चढाइएका हुन्थे । भारत र पाकिस्तानमा गरेर प्राचीन हडप्पाका झन्डै दुई हजारवटा पुरातात्त्विक महत्त्वका स्थान भेटिएका छन् ।

अनुसन्धानकर्ताहरूले इजरायलको हाइफास्थित एउटा प्रागैतिहासिक गुफामा अर्धफिरन्ते सिकारीहरूको चिहानको अध्ययन गर्ने क्रममा त्यहाँ प्राचीन भट्टी भेटाउन सफल भएका थिए । त्यहाँ १३ हजार वर्षअघि अन्न कुहाएर बनाइएको मदिराको अंश पनि भेटिएको थियो । पाँच हजार वर्षदेखि मात्र अन्न कुहाएर मदिरा बनाउन थालिएको भन्ने मान्यतालाई त्यो नयाँ प्रमाणले मदिराको प्राचीनता (Antiquity) बदलिदियो । ‘जर्नल अफ आर्किअलजिकल साइन्स: रिपोर्ट्स’ को एउटा अङ्कमा प्रकाशित लेखमा मदिरा मृतकको सम्मानमा आयोजना हुने भोजका लागि बनाइने गरेको तर्क गरिएको थियोे । अनुसन्धानको नेतृत्व गरेकी स्यान्फर्ड विश्वविद्यालयकी प्राध्यापक ली लिउले स्यान्फर्ड न्यूजलाई बताइन् “यो मानवनिर्मित सबैभन्दा पुरानो मदिरा भएको प्रमाण हो ।”

मानव उत्पतिको इतिहासमा नयाँ रहस्य खोल्दै अफ्रिकाको एक गुफामा १९ करोड वर्ष पुरानो प्राचीन कंकाल फेला पर्यो । मानव उत्पतिको सम्बन्धबारे यो खोजपछि हाल रहेको अवधारणा बदलियो । अटवाटर्साण्ड विश्वविद्यालयको प्रोफेसर ली बर्गरले नेतृत्व गरेको एक अन्तर्राष्ट्रिय अध्ययन दलका अनुसार सायद कंकाल आमा छोरा नै हुन् । दक्षिण अफ्रिकाको सबभन्दा ठूलो शहर जोहानेसबर्गमा लास गाड्नका लागि जमिनको कमी भएकोले धेरै मानिस अन्तिम संस्कारका लागि पुरानै चिहानलाई फेरि खनिरहेका छन् । शहरमा चिहानको व्यवस्थापन गर्ने विभागका म्यानेजर रेजी मोलोइका अनुसार चिहानका लागि खुल्ला ठाउँ धमाधम सकिएको छ । अफ्रिकी सरकारले जमिन अधिग्रहण (Land Acquisition) गरेर भएपनि समाधिस्थलको व्यवस्था गर्ने तयारी गरेको छ ।

चीनको हेनान प्रान्तमा करिब तीन हजार वर्ष पुराना तीनवटा कफिन भेटिए । स्थानीय पुरातत्व विभागले ती कफिन हाल सङ्ग्रहालयमा राखेको छ । पुरातत्वविद् चोङ् देमिङ्ले भने “चाङ् वंशका समयको यी कफिनहरु निकै दुर्लभ छन् ।” प्रारम्भिक अनुसन्धानबाट ती चिहान चीनको प्राचीन राजवंश, चाङ्वंशीय समयको भएको खुलेको छ । चाङ्वंशीय शासन चीनमा करिब १४०० बिसीताका थियो । चीनको हेनानलाई चिनियाँ सभ्यताको जन्मभूमि पनि मानिन्छ ।

व्यवस्थित चिहानघरको नमूना :

इटालीको रिमिनीस्थित ‘सिंगला बार्बक’ नामको सामूहिक चिहानघर,  जहाँ दोस्रो विश्वयुद्धताका मारिएका ब्रिटिश गोर्खा सैनिकहरूको सामुहिक चिहान छ । व्यवस्थित चिहानघरको एउटा नमूना । 

इटालीको रिमिनीस्थित त्यहाँ ‘सिंगला बार्बक’ नामको एउटा सामूहिक चिहानघर छ । त्यहाँ ज्ञात ५ सय ९१ र अज्ञात २७ जना गरी जम्मा ६ सय १८ नेपालीका चिहान छन् । दोस्रो विश्वयुद्धमा इण्डियन राइफल्सबाट गएका ती गोर्खाली फौज बेलायतको पक्षमा जर्मनीविरुद्ध लड्दा मारिएका थिए । बेलायतको विख्यात बहादुरी पदक भिक्टोरिया क्रसद्वारा मरणोपरान्त सम्मानित राइफलम्यान थमन गुरुङ र शेरबहादुर थापासहितका चिहान सुरक्षित छन् । त्यहाँ पुग्ने जो कोही नेपाली भावुक हुनेगर्छ । प्रथम र दोस्रो विश्वयुद्धले कति क्षति पुर्‍यायो भन्ने अध्ययन गर्न बेलायत सरकारद्वारा गठित आयोग ‘द कमनवेल्थ वार ग्रेभस् कमिसन (CWGC) ले ती चिहानघर र स्मारकको रेखदेख तथा मर्मतसम्भार गर्दै आएको छ ।

पिरामिड 

मिस्र (Egypt) देशको पिरामिड संसारमै प्रसिद्ध, भ्रमण गर्न लायक पर्यटकीय स्मारकमा पर्दछ । विश्वको सात आश्चर्यमा पर्ने मिस्रको पिरामिड, जहाँ शवलाई भित्र गाड्ने गरिन्थ्यो । आफ्ना प्रिय राजारानीको चिहानका लागि हालको विशाल पिरामिड बनाइएको थियो । लामो समयसम्म सुरक्षित रहन सकोस् भन्ने उदेश्यले मृत शरीरलाई कलात्मक ढङ्गले सजाइन्थ्यो र तापक्रमसमेत सन्तुलित बनाएर शवलाई पिरामिडको केन्द्रमा राखिन्थ्यो । मानिसको मृत्युपछि पनि दोस्रो संसार हुन्छ भन्ने विश्वासमा शवसँगै खाद्यान्न, पेयपदार्थ लत्ताकपडा, हातहतियार, बहुमूल्य गरगहना र सेवक सेविकाहरूलाई पनि सँगै गाड्ने गरिन्थ्यो । बहुमूल्य चिजहरूको चोरी नहोस् भन्नका खातिर शवमाथि गह्रौं ढिस्को एवम् बलियो त्रिभुज आकारको चुली बनाइन्थ्यो, जसलाई पिरामिड (Pyramid) भन्ने गरिन्छ । करिब २५६० ईसापूर्वमा मिस्रका शासक खुफु राजाको चौथो वंशले झन्डै ३० लाख मजदुर लगाई ग्रेट पिरामिडको निर्माण गरेका थिए । उक्त पिरामिड निर्माण गर्न २३ वर्ष लगेको थियो । गिजाको ग्रेट पिरामिड चन्द्रमाबाट पनि देख्न सकिन्छ । मिस्रमा यस्ता सानाठूला गरी १३८ पिरामिड छन् । चीन, इन्डोनेसिया र साउथ अमेरिकामा पनि पिरामिडहरू नभएका होइनन् । मृत शरीर र  शरीरसँगै गाडिएका बहुमूल्य वस्तुहरूलाई सुरक्षित राख्नका लागि निर्मित कलात्मक पिरामिडहरू तत्कालीन मानव सभ्यताको दर्बिला र रहस्यमय अवशेष आज पनि मानिन्छन् । 

चिहानबाट बहुमूल्य वस्तु चोरी : 

सन् २०१३ मा पूर्वी चीनको लियाओनिङ प्रान्तको हाङसान सांस्कृतिक क्षेत्रमा इशापूर्व ४७५ देखि २२१ को समयमा गाडिएका प्राचीन चिहानबाट पुरातात्त्विक महत्त्वका बहुमूल्य धातुका मुद्रा, गहना र पत्थर चोरी भएको थियो । उक्त चोरीको आरोपमा अदालतले कि जिङ्यूसहित तीन जनालाई १० वर्ष ६ महिनाको जेल सजाय र ६ हजार अमेरिकी डलर जरिवाना तोकेको थियोे ।

“हाम्रो देशको सार्वजनिक वनजंगलमा भएका अधिकांश समाधि, समाधिस्थलहरू अव्यवस्थित एवम् संरक्षणविहीन छन् । कालान्तरमा यसको महत्वसँग हामीलाई सरोकार नहुनु हाम्रो अज्ञानतासिवाय केही होइन ।” 

नेपालकै मुस्ताङ जिल्लाको उपल्लो मुस्ताङको सामजोङ गाउँको एक गुफामा भेटिएको एक मानव कंकाल १२ सय वर्षअघिको भएको पत्ता लागेको छ । अगष्ट २०१६ मा फेला परेको उक्त मानव कंकाल ई.स. ८०० को भएको जनाइएको छ । दुर्भाग्य, नेपालमा चिहानको संरक्षण गर्नुपर्छ भन्ने चेतना हामीमा विकास भइसकेको छैन् । चिहानक्षेत्रको संरक्षणको अभावमा चिहानबाट बहुमूल्य बस्तुहरू चोरिन्छन् ।स्थानीय समाजसेवी दिवस याक्खा र संजिव सोम्याहाङका अनुसार सन् २०११-०१२ मा मात्रै संखुवासभा जिल्लाको खराङ र माम्लिङको तामाङ गाउँका गरी करिब ७५ जति पुराना चिहानहरू खिनिए । केही संख्यामा आएका चिनियाँहरूले स्थानीय जग्गाधनीहरूलाई आर्थिक प्रलोभनमा पारेर जमिनभित्रको वस्तु देख्न सकिने अत्याधुनिक यन्त्र (Detector) प्रयोग गरी बहुमूल्य तथा पुरातात्त्विक महत्वका गरगहना, सी माला, पुवाँलो, सिक्का लगायतका वस्तुहरू चिहानबाट झिकी लगेका थिए । यस्ता बहुमूल्य वस्तु पाइने लोभमा स्वयं स्थानीय समुदायले पनि कतैकतै आफ्नै पुर्खाको चिहान खन्ने गरेको पाइएको छ ।

अगष्ट २०१७ मा इलाम जिल्लाको माइजोगमाई गाउँपालिका ४, नामसालिङ निवासी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण मृत्यु भएपछि लिम्बू परम्पराअनुसार घरनजिकै उनको शव गाडिएको थियो । लगतै राति उनको शव खनेर सुनको गहना (मंगलसूत्र) चोरी भएको थियो । प्रहरी प्रशासनले चोरी गर्नेको व्यापक खोजी पनि गर्यो । यो विषयले धेरैलाई आश्चर्यमा पार्यो । यस्ता चोरीका घटनाहरू असंख्य छन् । लिम्बू परम्पराअनुसार मानिसको मृत्यु भएपछि शवसँगै उसका केही गरगहना चिहानमा पुरिदिने चलन छ । आजभोलि सुरक्षा अभावको कारण बहुमूल्य वस्तुहरू चिहानमा लगाउन लगभग छोडिएको छ । हाम्रो देशको सार्वजनिक वनजंगलमा भएका अधिकांश समाधि, समाधिस्थलहरू अव्यवस्थित एवम् संरक्षणविहीन छन् ।

अगष्ट २०१७ मा इलाम जिल्लाको माइजोगमाई गाउँपालिका ४, नामसालिङ निवासी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण मृत्यु भएपछि लिम्बू परम्पराअनुसार घरनजिकै उनको शव गाडिएको थियो । लगतै राति उनको शव खनेर सुनको गहना (मंगलसूत्र) चोरी भएको थियो । प्रहरी प्रशासनले चोरी गर्नेको व्यापक खोजी पनि गर्यो । यो विषयले धेरैलाई आश्चर्यमा पार्यो । यस्ता चोरीका घटनाहरू असंख्य छन् ।

कालान्तरमा यसको महत्वसँग हामीलाई सरोकार नहुनु हाम्रो अज्ञानतासिवाय केही होइन । अन्य देशमा प्राचीन चिहानहरूको आजपर्यन्त संरक्षण भएको पाइन्छ । चिहान मानव सभ्यता र संस्कृतिको दरिलो पहिचान पनि हो । प्राचीन मानव सभ्यताका निस्साहरू आज तिनै चिहान उत्खननबाट प्राप्त भएका छन् । चिहान संरक्षणले समुदायको मात्र होइन सिङ्गो राष्ट्रको गौरव बढ्ने विषय पनि हो । हामी यी र यस्ता विषयमा चुकिरहेका छौँ । कपुरथानमा कुँदिएका अक्षरहरूले भाषा, लिपि र साहित्यजस्ता कुराहरूलाई पनि आत्मसात गरेको पाइन्छ । चिहान आफैंमा आवाजविहीन जीवन्त इतिहास हो । यसको उचित व्यवस्थापनसँगै संरक्षण आजको सभ्य समाज र देशको परिचयभित्र पर्दछ ।

झापा

प्रकाशित : १९ भाद्र २०७६, बिहिबार ००:००