१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

बिचार

भ्रष्टाचार र कमिसनको विषयमा म कठोर बन्छु : मुख्यमन्त्री राई (निर्देशनको पूर्णपाठ)





प्रदेश सरकार बनेको डेढ वर्ष पुगेको छ । मैले भनिरहनु पर्दैन, संविधान घोषणापश्चात् पहिलोपटक नेपालमा संघीयतामा हामी गएका छौं । त्यसलाई संस्थागत ढंगले अगाडि बढाउन हामी लागिरहेका छौं । त्यसैले प्रदेश संरचना नितान्त नयाँ संरचना हो । हामीले शून्यबाट काम गरिरहेका छौं । हामी सबै नयाँ ढंगले सिर्जनात्मक ढंगले अघि बढिरहेका छौं । त्यो जिम्मेवारी इतिहासमा हामीले पहिलोपटक पाएका छौं । यो जिम्मेवारी प्राप्त गर्ने तपाई हामी पहिलो बनेका छौं । हामी अत्यन्तै जिम्मेवार र महत्वपूर्ण ढंगले अगाडि बढिरहेका छौं । हाम्रो नेपाल लामो समयसम्म राजनीतिक अस्थिरता, द्वन्द्व, अभाव र गरिबीबाट गुज्रियो । अस्तव्यस्तताको अवस्थाबाट हामीले आज देशलाई अगाडि बढाउन, उचाइमा लैजान सफल भएका छौं । देशलाई नयाँ युगमा हामीले लिएर आउन सफल भएका छौं, नयाँ नेपाल बनाउने ऐतिहासिक जिम्मेवारी लिएर हामी अगाडि आएका छौं । हाम्रो काँधमा त्यो जिम्मेवारी रहेको छ ।

हामी राजनीतिक तहमा आवधिक रुपमा निर्वाचनको माध्यमबाट आएका छौं । तपाईहरू स्थायी रुपमा परीक्षा र मापदण्ड पूरा गरेर राष्ट्रसेवकको रुपमा जनताको करबाट सेवा सुविधा लिएर, सबै प्रकारका पारिश्रमिकक लिएर देश र जनताको पक्षमा काम गर्ने सपथ खाएर आउनुभएको छ । तपाईं हामीले नयाँ नेपाल बनाउनु पर्नेछ, नयाँ युगको निर्माण गर्नुपर्ने ऐतिहासिक जिम्मेवारीमा छौं । त्यसैले पुरानै नेपालको मनस्थितिबाट होइन, नयाँ नेपाल, नयाँ संविधान, संघीयताको आत्मा र भावनाको जगमा अडिएर पुराना मानसिकता त्यागेर, संघीयता र संविधानको मर्म अनुसार नयाँ ढंगबाट व्यवहार शैली अपनाएर जनता देश प्रति समर्पित भएर काम गर्नुपर्ने ठूलो जिम्मेवारी हाम्रो काँधमा छ ।

प्रदेशमा तपाईं हामी काम गरिरहेका छौं । डेढ वर्ष पूरा भएको छ । हामीलाई पहिलो वर्षको आधाभन्दा कम समय बाँकी थियो । त्यस समयमा हामीले १ सय २ करोड बजेट प्राप्त भएको थियो । त्यसलाई हामीले राजनीतिक निर्णयको आधारमा खर्च ग¥यौं । हामीले दोस्रो २०७५/०७६ मा ३६ अर्बको बजेट हामीले ल्यायौं । त्यो बजेट खर्च र प्रगतिको बारेमा हामी समीक्षा गर्दैछौं । हामी साउन २५ भित्र पूर्ण समीक्षा गरिसक्नेछौं । हामीले आर्थिक वर्ष २०७६/०७७ को बजेट ४२ अर्बभन्दा बढीको ल्याएका छौं । त्यो बजेट तथा कार्यक्रम कार्यान्वयनको ‘एक्सन प्लान’ बनाउने काम सुरु भएको छ र चाँडै नै हामी गत आर्थिक वर्षको बजेट कार्यक्रमको पूर्ण समीक्षा सँगसँगै आगामी आर्थिक वर्षको एक्सन प्लान बनाउने छौं ।

आज उपस्थित सबैलाई म धन्यवाद र उपस्थितिको लागि खुसी व्यक्त गर्दछु । यो पहिलो पटक बोलाइएको बैठक हो । यो सामान्य छलफल, रिपोर्टिङ र समीक्षाका लागि बोलाइएको हो जस्तो तपाईहरुले ठानिरहनु भएको होला । तर, म यहाँहरुलाई भन्न चाहन्छु, यो बैठक नितान्त भिन्न रुपमा प्रदेश सरकार बनेपछि पहिलो पटक अत्यन्त जरुरी भएर मुख्यमन्त्रीको निर्देशनमा इमरजेन्सी ढंगबाट बोलाइएको हो । यो बैठकमा संचारकर्मीलाई बोलाएर खबर गरेर उपस्थित गराएर पहिलो पटक यस्तो बैठक बोलाइएको हो । संचारकर्मीलाई पनि बोलाएर यस्तो बैठकमा केही कुरा राख्नु पर्ने भयो ।

२०७६ असार ३० गते भोजपुर जिल्लाको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख मोहनबाबु यादव रंगेहात १ लाख ८० हजारसहित रंगेहात पक्राउ पर्छन् । थुप्रै सूचनाहरु मैले प्राप्त गरेको छु, त्यसखालका श्रृंखला दोहोरिने सम्भावना देखिन्छ । कुन अड्डा कसरी चलिरहेको छ, हामीले निरन्तर ‘वाच’ गरिरहेका छौं । मैले वाच गरिरहेको छु । मुख्यमन्त्री, प्रदेश सरकार तथा मन्त्रिपरिषद्को कार्यालय कुनै पनि कुरामा अनविज्ञ र बिनासूचना बसेको छैन ।

म अत्यन्तै गम्भीर बनिरहेको छु । मान्छे रंगेहात समातिन्छ, यति अंक रकम माथि बुझाउनु पर्नेछ भन्छ, माथि भनेको कहाँ हो ? घुसको निम्ति विभिन्न खालको सेटिङ मिलाइन्छ, मिलाउने काम भइरहेको छ आदि इत्यादि । प्रदेश कार्यालयको एक जना डिभिजन प्रमुख रंगेहात घुस लिँदालिँदै पक्राउ पर्छन्, यही श्रृंखला अर्को दोस्रो, तेस्रो हुँदै गयो भने प्रदेशको अवस्था के हुन्छ ? बेलैमा सचेत बनेर त्यस्तो प्रकारको घटना हुन नदिन र घुस लिँदालिँदै पक्राउ पर्न नपरोस् । मैले थुप्रै सूचना प्राप्त गरेको छु, त्यही सूचनाको आधारमा यो बैठक बोलाइएको छ । म भन्न चाहन्छु, सोध्न चाहन्छु, त्यस्ता खालको घुस लिनेदिने काम कसको आडमा भइरहेको छ ? मुख्यमन्त्री, मुख्यमन्त्रीको कार्यालय, सचिवालय, मन्त्रीहरु, प्रमुख सचिव, सचिवालय, अथवा कुनै अमुक व्यक्ति वा कसको आडबाट त्यस प्रकारको कमिसन लिने, बोलकबोल गर्ने, घुस नांगो रुपमा लिने यस्तो काम कसरी भइरहेको छ । हामी कुन मनस्थितिमा छौं, हामी कहाँ छांै, हामी के गर्दैछौं, के भइरहेको छ यो ?

दिउँसै अड्डामा फिटान भएर जाने, ठाडै घुस माग्ने, बजेट संकलन गर्ने ठाउँमा पु¥याउने, अत्यन्तै लज्जास्पद, अत्यन्तै घृणित, त्यस्ता खालको कुराहरु प्रदेश सरकारको नोटिसमा आउँछन्, आइरहेको छ । मैले ती सूचनाहरु प्राप्त गरेको छु । हामी सबै गम्भीर हुने बेला आयो, हामी बेलैमा सचेत हुन सकेनौं भने एकपछि अर्को, अर्कोपछि अर्को भन्दै आयो भने व्यक्ति सकिएला, कारबाहीमा पर्छ, छानविनमा पर्छ, कानून बनेको छ । तर, त्यसले सन्देश के जाला ? त्यसले प्रदेशमा कस्तो दाग लाग्छ ? हामी गम्भीर हुनुपर्ने परिस्थिति निर्माण भयो । आजका दिनबाट त्यस्ता काम नहोस्, ती संजाल हामीले तोड्नुपर्छ । नागरिकहरुको करबाट देश र जनताको लागि समर्पित हुने सपथ खाएका छौं भने जनताको नजरमा, समाजको र विश्वको नजरमा असल जनप्रतिनिधिको रुपमा आफूले आफूलाई उभ्याउन सकियोस् । त्यो नै अहिलेको जनताको अपेक्षा हो ।

एउटा नैतिक मूल्यको जगमा उभिएर प्रदेशमा काम गर्न सकौं । मेरो बारेमा कोही पनि भ्रममा नपर्न आग्रह गर्दछु । म २६ वर्षको उमेरमा प्रतिनिधिसभाको सांसद भएर विभिन्न जिम्मेवारी निर्वाह गरेर यो ठाउँसम्म आएको छु । म यो प्रदेशमा मुख्यमन्त्री बनेर इतिहासमा नाम लेखाउन मात्रै आएको होइन । म सेटिङ मिलाएर पैसा कलेक्सन गर्न आएको होइन । जुन दिनदेखि राजनीतिमा लागें, त्यही दिनदेखि घुस, स्वार्थ, कमिसनको लोभ मेरो दिमागमा अहिलेसम्म छैन । म प्रदेशमा आएको सुखी र समृद्ध प्रदेश बनाउने संकल्प लिएर आएको हुँ । त्यो इमानको जगमा उभिएर म नेतृत्व गर्न चाहन्छु । म सबैको साथ त्यही जगबाट प्राप्त हुने अपेक्षा गर्दछु । मेरो चस्माले सबैलाई समान हिसावले हेर्दछु । म दलको घेराभित्रमात्रै रहेर बस्ने काम गर्दिन । कुनै पनि आग्रह पूर्वाग्रह राखेर काम गर्दिन, मबाट त्यस्तो हुँदैन, प्रदेश सरकारले त्यसो गर्दैन । प्रदेश सरकारले हेर्ने चस्मा सबैको लागि एउटै हुन्छ ।

मलाई कतिपयले भन्ने गरेका पनि छन्, मुख्यमन्त्री स्लो भयो । तर, मलाई राम्रो हेक्का छ । कतिबेला स्लो हुने कतिबेला एग्रेसिभ हुनुपर्ने भन्ने मलाई राम्ररी थाहा छ । त्यसैले अब चुप लागेर स्लो भएर बस्ने दिनहरु करिब–करिब अब अन्त्य हुँदैछ । अब हामी एग्रेसिभली अगाडि बढ्न चाहन्छौं । त्यसैले मैले आज तपाईहरुलाई आग्रह गर्न चाहेको कुरा के हो भने कुन आडमा, कुन आडमा कस्तो आडमा त्यस्तो भइरहेको छ, त्यसको सूचना मलाई दिनुप¥यो । मेरो फोन, इमेलमा त्यो सूचना दिनुप¥यो । मेरो सचिवालय हुनसक्छ, मेरा मन्त्रीहरु हुनसक्छन्, सचिवहरु हुनसक्छन्, बाहिरबाट कतिपय राजनीतिक व्यक्तिहरु हुनसक्छन्, त्यो सूचना मलाई दिनुप¥यो । म तपाईहरुको विश्वास गर्छु । मेरो सम्पूर्ण भरोसा, विश्वास तपाईंहरुमा छ । तर, सुरु भयो नांगो रुपमा यो कहाँबाट भयो कसरी भयो ?

थुप्रै कमिसनका पोकाहरु तपार पारिएको भन्ने पनि मैले सूचना पाएको छु । त्यसैले त्यो आड कहाँबाट प्राप्त भइरहेको छ, मलाई लाग्छ, आफ्नै बुद्धि, विवेक र तागतले संघीय गणतन्त्र नेपालमा संघीयता कार्यान्वयन गर्ने गरी राजनीतिक संयन्त्र तयार भइसकेपछि त्यो हिम्मत र त्यो आँट त्यो व्यक्तिमा त्यतिकै पलायो होला, अथवा केही मिनेट विवेकले काम गरेन र कोठामा पुग्नुभयो होलाजस्तो मलाई लाग्दैन । त्यसैले म सूचनाको आव्हान गर्दछु । सूचना पाएको १ घण्टाभित्र एक्सन हुन्छ । तपाईले हेर्दै जानुहोला, त्यो विषय सबैलाई लागू हुन्छ, म मा पनि लागू हुन्छ, अन्यमा पनि लागू हुन्छ । यो विषयमा म कठोर बन्न चाहन्छु । त्यसैले बेलैमा तपाई हामी सचेत बनौं, जनताप्रति कमिटेड भएर, नैतिक इमान र मूल्यको जगमा उभिएर तपाई हामीले काम गरौं, हामीले अत्यन्तै ठूलो अवसर प्राप्त गरेका छौं ।

आजको युगले, पछिल्लो जेनेरेसनले के भन्छ हामीलाई, यस्ता प्रवृत्तिलाई निरुत्साहित गरौं, त्यसखालका सञ्जाल भत्काउँ । सुखी र समृद्धि हाम्रो चाहना छ । सरकार सुस्पष्ट रुपमा अगाडि बढेको छ । हाम्रो नीति र कार्यक्रममार्फत हामीले हाम्रो लक्ष्य प्रष्ट पारेका छौं । हामी दुविधामा छैनौं, हामी संघीयता कार्यान्वयनमा दृढताको साथ लागिरहेका छौं । लाग्न सक्छ धेरै मानिसहरुाई संघीयता कार्यान्वयन हुँदैन । लाग्न सक्छ, प्रदेश सरकारको अधिकार छैन, जे मन लाग्योे त्यही गर्दा हुन्छ । हामी सुरुवाती चरणमा छौं, संविधानले दिएका अधिकारको अभ्यासमा प्रदेश सरकार अगाडि बढ्छ, संघीयतामार्फत नै सुखी नेपाल र समृद्धि नेपाल बनाउने चाहना पूरा गर्नेछ । त्यसैले प्रदेश सरकारले केही थाहा पाउँदैन, केही जानकारी राख्दैन भनेर सोच्नु गलत छ । अहिलेको युगमा विभिन्न प्रविधिको विकास भएको छ । प्रत्येक मानिसलाई निगरानी गर्ने प्रविधिको विकास भएको छ । त्यसो भएको कारण गलत खालको मानसिकता लिएर अपराधजन्य काम गर्नेतर्फ हामीले गर्नु हुँदैन ।

०७५/०७६ को बजेट खर्च गर्दा हामीले समयबाट बजेट खर्च गर्नसक्ने अवस्था थिएन । कर्मचारी समायोजनको काम ढिलो भयो, प्रदेश मातहत रहने संरचनाको युनिट ढिलो हस्तान्तरण भयो र तस्रो चौमासिकको मध्यतिरबाट बजेट खर्च गर्नुपर्ने अवस्था आयो । जेठ र असारमा धेरै ठूलो बजेट खर्च गर्नुपर्ने बाध्यता आयो । सरकारलाई विभिन्न ढंगले सतहमा आरोप पनि लगाइएको छ, जेठ र असारमा यो सरकारले ठूलो बजेट खर्च ग¥यो भन्ने । यो हाम्रो बाध्यता थियो । यद्यपि त्यसको पनि हामी समीक्षा गर्दैछौं । बजेट कार्यान्वयनको अवस्था नै ढिलो गरि भए पनि जेठ र असारमा गर्नुपर्ने बाध्यता थियो । अब भने जेठ र असारमा हाम्रो बजेट खर्च गर्ने परिपाटी हुँदैन ।
अहिले आवधिक योजनाको काम निर्माण भइरहेको छ । हामी आगामी वर्षको बजेट जेठ १५ भित्रमा खर्च गर्नेछौं । जेठ १५ देखि उता प्रदेश सरकारको बजेटबाट कुनै तालिम, गोष्ठी वा टेण्डर केही हुँदैन, कुनै काम हुँदैन । जेठ १५ भित्रमा खर्च गरिसक्ने गरी एक्सन प्लान बन्छ, प्रमुख सचिवमार्फत त्यसखालको फर्मेट सबै मन्त्रालयमा गइसकेको छ । अब हामी अघिल्लो आर्थिक वर्षको बजेटको समीक्षासँगै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न एक्सन प्लान बनाएर, अनुगमनको राम्रो प्रबन्ध गरेर, नतिजामा आधारित मूल्यांकन प्रणाली स्थापित गरेर बजेटको कार्यान्वयन गर्न चाहन्छौं । यहाँहरुलाई मेरो विनम्रतापूर्वक आग्रह छ । हामी अत्यन्तै गम्भीर बनौं । नागरिकले असाध्यै नजिकबाट नयाँ आँखाले हामीलाई हेरेकै कारण रंगेहात पक्राउ परिरहेको हो ।

हाम्रो स्रोत साधनबाट के कति कसरी गर्नुपर्ने हो त्यस कुरामा प्रदेश सरकारले सानो मन बनाउनुपर्ने अवस्था छैन । हामी फरक ढंगले स्रोतको व्यवस्थापन गरेर त्यसलाई पुनःविचार गर्नसक्छौं । नयाँ कार्यसम्पादन मूल्यांकनको आधारमा हामीले सेवा सुविधा थप गर्न सक्छौं । हामीले कम्तीमा यो माटोको लागि देश र जनताप्रति इमान्दार बनेर अगाडि बढौं । मेरो भनाई, निर्देशन र आव्हान तपाईहरु सबै गलत हुनुहुन्छ, गलत मनसायले सबै आक्रान्त हुनुहुन्छ भन्ने हैन । तर, घटना सुरु भयो, सूचना दर्जनौं आउन थाले, यो नगर्दा दिनैपिच्छे रंगेहात पक्राउ पर्नसक्ने अवस्था आयो । यो आजको बैठकबाट त्यो श्रृंखला धेरै हदसम्म रोकिनेछ । सबै त्यस्ता खालका मनस्थिति भएका साथीहरु ठेगानमा बस्नेछौं । त्यसैले हामी सबैको बद्नाम नहोस्, प्रदेशको बद्नाम नहोस्, सबैको निधारमा कलंक नलागोस् भनेर आकस्मिक रुपमा यो बैठक बोलाइएको हो । तपाईहरुमाथि सरकारले सम्पूर्ण रुपमा विश्वास गरेको छ । हामी प्रदेशबाट असल संस्कृति निर्माण गर्नेछौं । किनकी हामी प्रदेश नम्बर १ मा बस्छौं । प्रदेश १ बाट राम्रा सन्देश प्रवाह हुनुपर्छ, त्यस्ता खालको कलंकीत, नाजायज, अपराधजन्य कुनै पनि कुराहरु नजोडिएर राम्रा–राम्रा सन्देशहरु प्रवाह गर्नुपर्छ । म संचारकर्मीलाई पनि आग्रह गर्न चाहन्छु, तथ्यसहित निगरानी गर्ने र सार्वजनिक गर्ने गरिदिनुहोस् ।

यो सामग्री मुख्यमन्त्रीको अफिसियल वेवसाईट www.sherdhanrai.com बाट साभार गरिएको हो ।

प्रकाशित : १४ श्रावण २०७६, मंगलबार ००:००