३१ बैशाख २०८१, सोमबार । May 13, 2024

ग्लोबल

दक्षिण कोरियाली राष्ट्रपतिको भनाई – शान्तिवार्ताप्रति अमेरिका उत्तर कोरिया प्रतिबद्ध छन्



सोल, १८ चैत  दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले केही समययतादेखि जारी रहेको शान्तिवार्ताप्रति अमेरिका र उत्तर कोरिया दुवै प्रतिबद्ध रहेका बताउनुभएको छ ।

उहाँले सोमबार राजधानी सोलमा आफ्ना केही निकटस्थ व्यक्तिहरुको बैठकलाई सम्बोधन गर्दै भन्नुभयो– शान्तिवार्ता तथा उत्तर कोरियामा निशस्त्रीकरण गर्ने भन्ने विषयप्रति अमेरिका र उत्तर कोरियाले आफ्नो प्रतिबद्धता देखाएका छन् ।

उहाँले यस विषयमा दक्षिण कोरिया, उत्तर कोरिया र अमेरिकाको प्रतिबद्धता एकसाथ रहेको र यी देश अब शान्ति प्रक्रिया र निशस्त्रीकरणबाहेकको अर्काे कुनै एजेण्डामा पछि फर्किन नसक्ने पनि बताउनुभयो ।

अमेरिका र उत्तर कोरियाबीचको दोस्रो चरणको वार्ताका क्रममा केही सामान्य कठिनाइका कारण कुनै सम्झौता हुन नसकेको भए पनि आगामी दिनमा वार्ताले निरन्तरता पाउने छ र यी विषयमा हामीहरु एकसाथ अघि बढ्ने छौँ ।

तर सो दोस्रो चरणको अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको बैठकमा पनि शान्ति प्रक्रियालाई निरन्तरता दिने र कोरियाली प्रायद्वीपमा विगतमा जस्तो अशान्तको अवस्था हुन नदिने बारेमा भने सहमति भएको उहाँले बताउनुभयो ।

उहाँको यो भनाई उहाँ यही अप्रिल ११ मा अमेरिका जानुअघि आएको छ । उहाँ यही अप्रिल ११ मा अमेरिका भ्रमणमा जादै हुनुहुन्छ र त्यहाँ उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुहुने छ ।

उहाँले आफ्नो भ्रमण उत्तर कोरियाको निशस्त्रीकरणका साथै कोरियाली प्रायद्वीपमा शान्ति प्रक्रियालाई पूर्णता दिने विषयमा नै केन्द्रित हुने धारणा राख्नुभएको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

पछिल्लो समयमा उत्तर कोरियाले आफू निशस्त्रीकरणका लागि तयार भएको बताएको छ भने त्यसमाथि अमेरिकाले विश्वास गरेको छैन ।

यी दुई देशबीच भियतनामको हनोइमा फेब्रुअरी २७ र २८ तारिखमा भेटवार्ता भएको थियो । त्यस उच्चस्तरीय वार्तामा कुनै नयाँ कुरामा सहमति या सम्झौता नभएको भए पनि शान्तिवार्तालाई निरन्तरता दिने बारेमा दुवै देश सहमत भएका बताइएको छ ।

प्रकाशित : १८ चैत्र २०७५, सोमबार ००:००