१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

अधिकारीको निधनमा राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित



काठमाडौँ, २१ फागुन ।   राष्ट्रियसभाको आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन पटक प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उहाँ विसं २०४८, २०५१ र २०५६ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित हुनुभएको थियो ।

पूर्वउपप्रधानमन्त्री अधिकारी २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा पनि सांसद हुनुहुन्थ्यो । उहाँको निधनमा सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रस्तुत गर्नुभएको शोकप्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

अधिकारी २०७० सालको संविधानसभामा एमालेकै तर्फबाट समानुपातिक सदस्य हुनुहुन्थ्यो । उहाँले विसं २०५१ र २०५५ मा अर्थमन्त्री, २०५३ मा निर्माण तथा यातायातमन्त्री, २०६१ र २०६७ सालमा उपप्रधानमन्त्रीलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रजातन्त्र पुनःस्थापनापछि विसं २०४६ मा गठन भएको संविधान सुझाव आयोगको सदस्य रहनुभएका अधिकारी लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हुनुभएको पारित शोक प्रस्तावमा उल्लेख छ । उपचारका क्रममा उहाँको फागुन १८ गते राति ९ः३५ मिनेटमा ह्याम्स अस्पतालमा निधन भएको थियो । त्रियासी वर्षीय अधिकारीले पु¥याउनुभएको योगदानको उच्च सम्मान गर्दै सभाको बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित : २१ फाल्गुन २०७५, मंगलबार ००:००