२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

अर्थ

प्रदेश २ विकास र समृद्धिको बाटो



संविधानअनुसार देशमा संघीयता लागू भएपछि नेपालमा पहिलोपटक सात वटा प्रादेशिक सरकार गठन भएका छन् । सबै प्रदेश सरकार गठन भएपछि अहिले समृद्ध र सुशासन दुई शब्दको बखान व्यापक रूपमा भइरहेको छ । राजनीतिक, प्रशासनिक, उद्योगी व्यापारी, बुद्धिजीवी एवं नागरिक अगुवाहरूको मुखमा यिनै शब्द झुण्डिएका छन् । समृद्ध प्रदेश सबैको चाहना र आवश्यक्ता हो । समृद्ध प्रदेशको यात्रामा हामी अनवरत रूपमा निष्कलंक लागिरह्यौँ भने यो यात्रा सम्भव छ तर बहस गरेर मात्र हामीले समृद्धि, खुशी र सुखी प्रदेशको भावानुभूत गर्न सकिँदैन । यसका लागि व्यावहारिक रूपमै स्पष्ट र निर्दिष्ट लक्ष्यसहितका योजनाको कार्यान्वयन आवश्यक छ ।
संघीय शासन प्रणालीको कार्यान्वयन प्रारम्भ भएको छ । संघ, प्रदेश र स्थानीय तहको सरकार गठन भइसकेका छन् । तर स्थानीय तहको कार्य सञ्चालन सुस्त, अस्तव्यस्त र बेथितियुक्त प्रारम्भिक लक्षण देखिएका छन् । स्थानीय तहले पाउनुपर्ने अधिकार अहिले पनि पाउन सकेको छैन । स्थानीय तहका प्रतिनिधिहरूले सिंहदरबार गाउँ–गाउँमा भन्ने कुरालाई नारामा सीमित गरिएको गुनासो गरिरहेका छन् । यसका अलावा ठूलो रकम बेरूजु फर्छ्यौट गर्न कठिन, विकासे बजेटको दुरूपयोग, योजना वितरणमा एकलौटी, लक्षित वर्गको बजेट अन्य शीर्षकमा खर्च गर्नु, कार्यालयमा बडापत्र नहुुनुु, स्थानीय तहमा कर्मचारी जान नमान्नु आदि समस्या छन् ।
पर्यटनको सम्भावना
विशुद्धरूपमा तराई–मधेशका आठ वटा जिल्ला भएको प्रदेश २ मा पर्यटन उद्योगको ठूलो सम्भावना छ । यस प्रदेशमा हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिर, बाराको गढीमाइ, सप्तरीको छिन्नमस्ता र कंकालिनी लगायत प्रसिद्ध धार्मिक केन्द्रहरू छन् । यस्ता धार्मिक तीर्थस्थलले समेत यस प्रदेशको पर्यटन उद्योगको विकासमा महत्वपूर्ण स्थान ओगटेका छन् । यस प्रदेशका धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूमा पर्यटन आगमनलाई वृद्धि गरी तारे होटलका साथै होमस्टेहरू खोल्ने वातावरण बनाउनु अहिलेको आवश्यकता छ ।
प्रमुख आधार कृषि
प्रदेश २ मा कृषिको अपार सम्भावना छ । यस प्रदेशमा कृषिमा राम्ररी लगानी गर्न सक्यो भने नेपालका सम्पूर्ण प्रदेशलाई खाद्यान्न पूर्ति गर्न सक्छ । कृषि क्षेत्रमा पनि प्रदेशको ठूूलो योगदान रहेको छ । विशेषगरी धान, गहँु, जुट, सुपारी, केरा, उखु लगायतका खाद्यान्नहरू प्रशस्त मात्रामा उत्पादन हुन्छ भने आँप पनि यसै प्रदेशमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । यस प्रदेशलाई आँपको राजधानी उपनामले पनि चिनिन्छ । यहाँ उत्पादन भएका ताजा तरकारी तथा माछा स्वदेशी बजारका साथै भारत तथा बङ्गलादेशमा समेत निर्यात गरी कृषकहरूले आम्दानी गरिरहेका छन् ।
आर्थिक सामथ्र्यमा रूपान्तरण गर्ने रणनीति आवश्यक
प्रदेशमा २ मा कमी स्रोतको होइन, स्रोतलाई आर्थिक सामथ्र्यमा रूपान्तरण गर्ने दूरदृष्टि र रणनीतिको मात्र अभाव हो । स्रोतको उपयोगमा प्रदेशहरूबीच आपसी साझेदारी संघीयताको आर्थिक आयाममा प्रभावकारी उपाय बन्न नसक्ने कारण छैन । ठूलो जनसंख्या समेटेर बसेको प्रदेश २ ले मानव संसाधनमा जोड दिएर ती प्रदेशलाई जनशक्ति आपूर्ति गर्न सक्छ ।
उद्योग र व्यापारका लागि सहज प्रदेश २ ले आकर्षण दिएर अन्य प्रदेशका लगानीकर्तालाई प्रोत्साहन गर्न असम्भव छैन । कर्णालीमा खाद्यान्नको अभाव छ । खेतीयोग्य जमीनको अभावमा कर्णालीले भोगेको भोकको पीडालाई २ नम्बरले समाधान गर्न सक्छ । संघीयता सापेक्ष आर्थिक विकास र समृद्धिको साधन हो भने यसलाई सन्तुलित ढङ्गबाट अघि बढाउनुको अर्को सुविधा उपलब्ध छैन । संघीयता कार्यान्वयनको चरणमै देखिएका सीमित बेथिति यसको औचित्यमा प्रश्न बनेर प्रकट भएका छन् ।
चुनौतीलाई अवसरको रूपमा हेरौं
संघीयता नेपालका निम्ति नौलो राजनीतिक प्रयोग भएकाले पनि यस्ता चुनौती अस्वाभाविक पनि होइनन, तर फरक मतलाई आरोपित गरेर मात्र नेतृत्वको दायित्व पूर्ण हुँदैन । आलोचनामै आत्मरित खोजेर मूल कार्यभारलाई छुटाउँदै जाने हो भने संघीयताको हिसाबकिताब महँगो सावित हुनेमा द्विविधा मानिराख्नु पर्दैन । सम्भावनाहरूको रणनीतिक उपयोगमा सार्थक प्रयासको बलमा अबको ५ वर्षमा कम्तीमा विकास र समृद्धिको पर्याप्त आधार निर्माणमा हुन सक्यो भने त्यसलाई उपलब्धि मान्न सकिन्छ ।
लामो समयसम्मको आन्दोलन र विभिन्न चरणमा भएका राजनीतिक परिवर्तनलाई पार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ सालमा संविधानसभाबाट घोषणा भएको छ । संविधानको घोषणा पछि गत वर्ष सम्पन्न तीन चरणको निर्वाचनले यसको कार्यान्वयनको बाटो खोेलेको छ भने अब राजनीतिक मुद्दाभन्दा विकासको मुद्दा उठान भएको छ । मधेशी जनतालाई आन्दोलनका लागि मात्र प्रयोग गर्दै आएका मधेशी दलहरूले अबका दिनमा निर्वाचनमा भोट लिनको लागि मात्र प्रयोग नगरी विकासको एजेन्डालाई प्राथमिकतमा राख्नुपर्छ ।
सम्भावनाको केन्द्र मधेश
राजनीतिले मधेशप्रतिको छवि परिवर्तन गर्नु जरूरी छ । मधेश भनेको खुला सिमानाका कारण अपराध, लागूऔषध, मानव बेचबिखनको मार्गजस्ता समस्याहरू मात्र होइन, सम्भावनाको केन्द्र पनि हो भन्ने मान्यता स्थापित हुनुपर्छ । यसमा राजनीतिको भूमिका बढी हुन्छ । त्यसैले मधेशबाट नेतृत्व गर्ने नेताले आफूलाई समयसापेक्ष अद्यावधिक गर्नु जरूरी छ ।

प्रकाशित : २० फाल्गुन २०७५, सोमबार ००:००