२२ बैशाख २०८१, शनिबार । May 4, 2024

समाचार

किसानलाई क्षतिपूर्ति



खलङ्गा । मौसममा आधारित स्याउखेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाद्वारा आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको हो । पाताराशि, गुठीचौर, तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ७१६ जना किसानले क्षतिपूर्ति पाएका हुन् ।

मौसमी स्याउ असिना र सुक्खा खडरीले क्षति पु¥याएकाले बीमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश इञ्चार्ज ऋषिराम पाण्डले बताए । एउटा बिरुवाको ४२ रुपैयाँमा बीमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको पाण्डेले बताए । वैशाखदेखि चैत १५ सम्म किसानले बीमा गराइसक्नु पर्ने भन्दै उहाँले मौसमी स्याउ बीमा गरेकामा खडेरी, असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ ।

मौसम सूचकाङ्कका आधारमा जुम्लामा स्याउ किसानले बीमा रकमको भुक्तानी पाएका हुन् । स्याउको बीमासँगै जीवन बीमा पनि गर्न थालिएको एक सय रुपैयाँले एक लाख रुपैयाँसम्मको बीमा गर्न सकिने पाण्डेले बताए ।

स्याउ बगँैचामा काम गर्न जाँदा चोटपटक लागेमा ७५ प्रतिशत र मृत्यु भएमा एक लाख रुपैयाँ दिने नीति शिखरले ल्याएको उहाँले जानकारी गराए। खरानीको अवस्था हरेर ६० मिलिलिटरभन्दा कम पानी परेमा किसानले क्षतिपूर्ति नपाउने भन्दै उहाँले त्योभन्दा कम पानी परेमा प्रतिबिरुवा रु दुई हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको बताए ।

यस वर्ष चन्दननाथ नगरपालिका, तातोपानी, गुठीचौर र सिञ्जा गाउँपालिकामा ७० प्रतिशतको दरले क्षतिपूर्ति दिएको छ भने पातारासी गाउँपालिकामा सबैभन्दा बढी असिनाले क्षति गरेकाले त्यहाँका किसानलाई ९० प्रतिशत क्षतिपूर्ति स्याउ किसानलाई दिएको पाण्डेले बताए । फागुन महीनाको पहिलो हप्तासम्म बीमा गरेका सबै किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । कार्यक्रमस्थलमै क्षतिपूर्तिको चेक पाउँदा किसान खुशी भएका छन् ।

स्याउको बीमा गर्दा एक बोट बराबर रु ४२ तिर्न हामी निकै तर्सिएका थियौँ, तर आज क्षतिपूर्ति पाउनु हाम्रा लागि निकै खुशीको कुरा भएको किसान देवी सेजुवालले बताए । उहाँले एक लाख २६ हजार बराबरको क्षतिपूर्ति पाएको छ । जुम्लाका स्याउ किसानलाई बीमा कम्पनीद्वारा क्षतिपूर्ति प्रदान हुनुले धेरै राहत मिलेको उहाँले बताए ।

चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख कान्तिका सेजुवालले स्याउखेतीबाट क्षति बेहोर्नुपरेका किसानलाई राहत पुगेको बताए । किसानलाई उहाँले बीमा गर्न आग्रह गर्नुभएको छ । स्याउखेती गरेका किसानलाई पानी र सिँचाइमा ध्यान दिनुपर्ने सेजुवालको सुझाव छ ।

वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले स्याउ बीमा गरेका किसानले रकम पाउनुमा किसानलाई बीमाप्रति राम्रो सोच रहेको र काम गर्न थप हौसला प्रदान भएको बताए । किसानलाई उत्साहित गर्ने काम शिखरले गरेको भन्दै उहाँले आफ्नो स्याउ फारमलाई अझै विस्तार गरी सबै बिरुवाको बीमा गरिने बताए ।

बगैँचा व्यवस्थापन सीप सिक्दै

स्याउका बिरुवा काटछाँट तथा बगैँचा व्यवस्थापन गर्ने समय शुरु भएपछि कृषकलाई दुईदिने तालीम दिइएको छ । वल्र्डभिजन नामक संस्थाको सहयोग तथा कास्डा जुम्ला र तिला गाउँपालिकाको समन्वयमा कृषकलाई स्याउ बगैँचा व्यवस्थापन तथा काटछाँटसम्बन्धी तालीम दिएको हो ।

जिल्लामा रहेका २१८ बस्तीमा बसोबास गर्ने २० हजार घरधुरीमध्ये १६ हजार घरधुरीले स्याउका बिरुवा लगाएका छन् । तिला गाउँपालिकाका राँसा, सुडी, रिपी, खोप्री र पुरु गाउँका २५ जना स्याउ उत्पादक कृषकलाई तालीम दिएको हो । बगैँचा व्यवस्थापन तालीमको सहजीकरण तिला गाउँपालिकाका कृषि शाखा प्रमुख हिक्मतराज गिरीले गरेको हो । कृषकलाई कसरी स्याउ काटछाँट गर्ने, बोडोपेस्ट कसरी लगाउने जस्ता सीप सिकाइएको शाखा प्रमुख गिरीले बताए ।

बिरुवालाई स्वस्थ बनाउन र रोग किराको सङ्क्रमणबाट बचाउनका लागि पनि काटछाँट गरी बगैँचा व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भने, “माघ १५ गतेदेखि फागुन १५ गतेसम्म बिरुवा काटछाँट र बोडोपेष्ट लगाउन उपयुक्त समय मानिन्छ ।”

तिला गाउँपालिका–९ राँसाकी मछालदेउ स्याउ उत्पादक समूहकी मैना रावतका अनुसार तालीममा सिकेका सीप व्यवहारमा प्रयोग गर्नेछौँ । अबका दिनमा स्याउ बगँैचा व्यवस्थापन तथा काटछाँट महिलाले पनि गर्नसक्ने उहाँले बताए । कास्डा जुम्लाका बजार संयोजक श्रीराम थापाका अनुसार बगैँचा व्यस्थापनसम्बन्धी तालीमसहित कृषकलाई बोडोपेस्ट बनाउने निलोथुतो र चुना उपलब्ध गराएको छ । यसले कृषकका स्याउ बगैँचामा रोगकिरा नियन्त्रण गर्ने अपेक्षा गरेको छ ।

छ लाख फुजी स्याउका बिरुवा माग

स्याउ फल्ने अधिकांश हिमाली जिल्लामा यतिखेर स्याउका नयाँ बिरुवा लगाउने तयारी भइरहेको छ । माघ फागुन महीनामा बिरुवा रोप्ने गरी कृषकले मङ्सिरदेखि नै बगैँचा व्यवस्थापन गरिरहेका छन् । पछिल्लो समय नयाँ स्याउ बिरुवाका लागि स्वदेशमा पाइने स्थानीय जातको बिरुवाभन्दा विदेशबाट आयात गर्नुपर्ने फुजी जातको इटालीको स्याउतर्फ आकर्षित भएका छन् । पहिले नेपालमै पाइने विभिन्न जातको स्याउ बिरुवा लगाउँदै आएका कृषक अहिले विदेशबाट बिरुवा माग गर्न थालेका हुन् ।

यस वर्ष स्याउ फल्ने हिमाली जिल्लामध्ये चार जिल्लामा मात्र करीब छ लाख फुजी स्याउको बिरुवा विदेशबाट माग भएका छन् । इटाली र स्पेनलगायतका देशबाट नेपालमा आइपुग्ने फुजी बिरुवा नेपालमा पाइने बिरुवाभन्दा १० गुणा महङ्गो पर्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ खुमलटार ललितपुरको पत्रका आधारमा स्याउ सुपरजोन जुम्लाले दिएको जानकारीअनुसार जुम्ला, कालिकोट, मनाङ र मुस्ताङमा मात्र करीब छ लाख फुजी बिरुवा माग भएको हो । जुम्लाका कृषकले तीन लाख ११ हजार ४२२ फुजी बिरुवा माग गरेका छन् ।

त्यस्तै कालिकोटका कृषकले एक लाख १६ हजार ५०० मनाङका कृषकले एक लाख ३१ हजार ६०० र मुस्ताङमा १५ हजार ५०० फुजी स्याउका बिरुवा माग भएको छ । सघन स्याउ रोप्नका लागि बिरुवा आयात गरी कृषकलाई वितरण गर्ने स्याउ सुपरजोन कार्यक्रमअन्तर्गत फुजी स्याउको बिरुवा ७० प्रतिशत अनुदानमा कृषकले पाउने भएका छन् ।

बाँकी ३० प्रतिशत कृषकको लगानी रहनेछ । वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले भने “बिरुवा आयात गरेको ढुवानी रकम कृषकलाई निःशुल्क हुनेछ, अनुदानमा वितरण हुने प्रतिबिरुवा कृषकलाई रु ४२५ सम्म पर्न जान्छ ।”

विश्व बजारमा राम्रो सम्भावना भएको र नेपालमा पनि फुजी स्याउको बढ्दो माग रहेकाले त्यसको उत्पादन वृद्धि गर्न अनुदानमा बिरुवा वितरण गर्न लागिएको उहाँले बताए । नेपालमा अहिले अन्य स्याउकोभन्दा फुजी स्याउ तेब्बर बढी मूल्यमा बिक्री भइरहेको छ । अनुदानमा आउने फुजी बिरुवा कृषकको मागअनुसार प्राप्त गर्न सम्भव नभएको स्याउ सुपरजोन जुम्लाले जनाएको छ ।

प्रकाशित : २३ माघ २०७५, बुधबार ००:००