२३ बैशाख २०८१, आइतबार । May 6, 2024

समाचार

कृषिलाई समाजसँग जोड्नुपर्छ’



रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाज रुपान्तरणका लागि कृषिलाई समाजसँग जोड्नुपर्ने बताएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ र बुटवल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा आजदेखि शुरु भएको कृषि मेलालाई सम्बोधन गर्दै उहाँले कृषि जनताको जीवनस्तर उठाउने माध्यम भएकाले समाजसँग जोड्नुपर्ने बताए ।

उहाँले व्यावसायिक कृषि प्रणालीमा नजाँदासम्म कृषि क्षेत्रको विकास सम्भव नभएको धारणा राखे । कृषिको व्यवसायीकरण र बजारीकरणका लागि वाणिज्य सङ्घले नेतृत्व गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले किसानलाई सम्मान गर्ने बानीको विकास गर्न जरुरी रहेको बताए । उहाँले भने, “कृषिमा बढ्दो परनिर्भरतालाई घटाउन जरुरी छ, यसका लागि कृषकलाइ प्रेरित गर्ने खालका कार्यक्रम ल्याउनुपर्छ ।”

वाणिज्य सङ्घका अध्यक्ष खिमबहादुर हमालले युवालाई कृषिमा आकर्षित गरी विदेशिनबाट रोक्न सकिने बताए । उहाँले कृषि क्षेत्रमा उपयुक्त लगानीको वातावरण निर्माण गरी उत्पादन बढाएर प्रदेशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको धारणा राखे ।

बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित आयोजना गरिएको मेलामा माटो र बोटबिरुवा परीक्षणको व्यवस्था मिलाइएको छ । कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरणमा सहयोग पु¥याउने लक्ष्यका साथ बुटवल मण्डपमा आयोजित मेलामा उन्नत जातका बीउबिजनको बिक्री वितरण र कृषि कर्जा तथा बीमाको व्यवस्था मिलाइएको छ ।

मेलामा नेपालका ४५ जिल्लामा उत्पादित कृषिउपज प्रदर्शनीका लागि राखिएको छ । छ दिनसम्म चल्ने मेलामा १२५ कक्ष राखिएका छन् ।

प्रकाशित : २१ माघ २०७५, सोमबार ००:००