१७ बैशाख २०८१, सोमबार । April 29, 2024

मुख्य खबर

व्यावसायिक वातावरण निर्माणमा सरकार : पूर्वप्रधानमन्त्री खनाल



काठमाडौँ, १९ माघ (रासस) : पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार व्यावसायिक वातावरण निर्माण गर्न लागेको बताउनुभएको छ ।

नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी सङ्घको ‘पाँचौँ साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशन’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकमा राजनीतिक मुद्दा समाप्त भएकाले आर्थिक विकास आवश्यक रहेको बताउनुभयो । “मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न उद्योग क्षेत्रको विकास हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले संविधानले उद्योगी व्यापारीको हकलाई समेटेको बताउँदै उद्योग क्षेत्रको विकासका लागि आवश्यक ऐन कानून निर्माणमा सरकार लागेको बताउनुभयो । मुलुकको विकासका लागि कृषि, पर्यटन र जलस्रोतमा विशेष ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ थियो ।

उद्योग विभागका निर्देशक जीवन सेढाईंले उद्योग, व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि राज्यको पूर्ण सहयोग रहने बताउनुभयो । “औधोगिक व्यवसाय ऐन आए पनि नियमावली र कानून नबन्दा समस्या उत्पन्न भएको छ”, उहाँले भन्नुभयो ।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले राज्यलाई कर तिरेर आफ्नो व्यवसाय सञ्चालन गर्दा पनि मुलुक उद्योग र व्यवसायमैत्री हुन नसकेको बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पूर्वअध्यक्ष सुरेश प्रधानले मुलुकको व्यापार घाटा कम गर्न सरकारले उद्योग क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा खिचापोखरी न्यूरोड व्यापार सङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठ, सिभिल मल व्यापार सङ्घका अध्यक्ष विजयकुमार महर्जन, कोटेश्वर व्यापार सङ्घका अध्यक्ष सरोजकुमार थापालगायतले मुलुक आयतमुखी नभई उद्योगमुखी हुनुपर्ने बताउँदै उद्योग सञ्चालनका क्रममा रहेका अस्पष्ट कानूनलाई समयअनुसार परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

विसं २०७० मा स्थापना भएको सङ्घमा हाल झण्डै २०० उद्योगी व्यवसायी संलग्न रहेको सङ्घका अध्यक्ष नरेश कटुवालले जानकारी दिनुभयो । उहाँले उद्योग मन्त्रालयमा साना उद्योग व्यवसायीको पहुँच नपुगेको बताउनुभयो ।

राससकर्मी रेग्मीसहित तीन पत्रकारलाई सम्मान

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अच्युत रेग्मीसहित तीन पत्रकारलाई सम्मान गरिएको छ ।

रेग्मीसहित सम्मानित हुनेमा माउण्टेन टेलिभिजनका पत्रकार रामेश्वर सापकोटा र इमेज टेलिभिजनका नविन शर्मा हुनुहुन्छ । सोही अवसरमा सङ्घका कार्यालय सचिव रुपा न्यौपानेलाई समेत सम्मान गरिएको छ । सम्मानित चारै जनालाई खादा ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

प्रकाशित : १९ माघ २०७५, शनिबार ००:००