१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

वीरेन्द्रनगरमा क्यान इन्फोटेक हुने



सुर्खेत, ११ माघ (रासस)  वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय क्यान इन्फोटेक आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) सुर्खेतको आयोजनामा फागुन २४ देखि २८ गतेसम्म ‘आइएमई पे इन्फोटेक’ सञ्चालन हुन लागेको हो ।

क्यान महासङ्घले कर्णालीमै पहिलोपटक रोबोटबाट इन्फोटेक उद्घाटन गर्ने जानकारी दिएको छ । कर्णालीका १० जिल्ला सहभागी रहने इन्फोटेकमा करीब ७० कक्ष तथा नेपालमा भित्रिएका नवीनतम प्रविधिको प्रदर्शनी मुख्य आकर्षण हुने क्यान सुर्खेतका अध्यक्ष पे्रमप्रकाश चन्दले बताउनुभयो । इन्फोटेकमा मेलाभित्र आइसिटी कन्फरेन्स, आइटी वर्कसप डिजिटल कर्णालीका लागि स्मार्ट प्रविधि विषयमा सेमिनार सञ्चालन हुनेछन् ।

कर्णालीको कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारलाई प्रविधिसँग जोड्नुका साथै मुख्य पर्यटकीय आकर्षण काँक्रेविहार, बुलबुले ताल, देउतीबज्यै, गोठीकाँडा, घण्टाघर, भेरी कर्णाली नदी, जाजुरा दह, रारा, थारू घरबासलाई प्रविधिमा जोडेर पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने लक्ष्य आयोजकले राखेको छ ।

आयोजकका अनुसार नयाँ प्रविधिसहितका प्रदर्शनीमा पाँचदेखि ५० प्रतिशतसम्म सामानमा छुटको व्यवस्था, स्थानीय तथा राष्ट्रियस्तरमा विकास भएका प्रविधिको प्रदर्शनी, स्मार्ट सेमिनार, निःशुल्क कम्प्युटर तथा प्रिन्टर मर्मत शिविर, अन्तर विद्यालय प्रविधि प्रतियोगिता, विज्ञान प्रर्दशनी र फ्रि वाइफाइ जोन मुख्य आकर्षणका रूपमा रहनेछन् । ‘आइएमइपे’मार्फत अनलाइन टिकटको व्यवस्था गरिनेछ । यसअघि सुर्खेत शाखाको आयोजनामा सुण्डे क्यान इन्फोटेक २०१३ र के सेभेन क्यान इन्फोटेक २०१६ सम्पन्न भइसकेको छ ।

प्रकाशित : ११ माघ २०७५, शुक्रबार ००:००