२० बैशाख २०८१, बिहिबार । May 3, 2024

समाचार

प्रधानमन्त्रीद्वारा धरहराको शिलान्यास भइरहँदा प्रहरीद्वारा स्थानीय र बटुवामाथि धरपकड



काठमाडौं, १२ पुस । केपी शर्मा ओलीले ऐतिहाँसिक स्तम्भ धरहराको बिहीबार शिलान्यास गरिरहँदा धरहरा परिसर बाहिर भने प्रहरीले स्थानीय र बटुवालाई धरपकड गरेको छ । प्रधानमन्त्री ओलीले धरहराको शिलान्यास गरिरहँदा धरहरा जोगाउनुपर्छ भन्ने अभियानमा लागेका राष्ट्रिय सम्पदा धरहरा बचाउँ अभियान स्थानीय संघर्ष समितिका अध्यक्ष बेद गौतमसहित केही स्थानीय र बाटोमा हिंडिरहेका बटुवासमेत एक दर्जनलाई प्रहरीले पकडेर लगेको हो । धरहराको शिलान्यासको खुसीयालीमा जस्ताले बारेको गेट बाहिरबाट हेरिरहेका उनीहरुलाई प्रहरीले एक्कासी ‘लौ समात यीनीहरुलाई’ भन्दै आफूहरुलाई पकडेर लगेको अध्यक्ष गौतमले जानकारी दिएका छन् । उनीहरुलाई प्रहरीले भ्यानमा हालेर महेन्द्र पुलिस क्लबमा लगेको छ ।
अध्यक्ष गौतमका अनुसार धरहराको दक्षिणतर्फ पर्ने सडक छेउकै किता नम्बर ५१० को भिम मुक्तेश्वर गुठीको जग्गामा सिमा मिचेर बन्न लागेको व्यवसायीक भवन निर्माणमा सबैले बेलैमा ध्यान दिउँ भन्दै त्यहाँ उपस्थितलाई पत्रमार्फत ध्यानाकर्षण गराउने अभियानमा उनी रहेका थिए । अध्यक्ष गौतमले धरहरा बनाउन स्थानीयको सहयोग आवश्यक रहेपनि त्यसलाई सहयोग गर्न आफूहरु तयार भएको तर प्रहरीले केही नै नभनी डाँका शैलीमा एक्कासी भ्यानमा राखेर प्रहरी हिरासतमा पुर्याउँदा आफूहरुको मानमर्दन हुनुका साथै निरंकुश शासनको झल्को मिलेकोे दुखेसो गरे ।
पक्राउ परेका बटुवाहरुले आफूहरुलाई किन धरपकड गरेको नै थाहा नभएको बताएका छन् । उनीहरुले सरकारी प्रहरी प्रशासनको यस्तो कदमको घोर बिरोध पनि गरेका छन् ।
गौतमको नेतृत्वमा रहेको राष्ट्रिय सम्पदा धरहरा बचाउँ अभियान स्थानीय संघर्ष समितिले धरहरा पुरातात्विक क्षेत्रभित्र विना नक्सा कम्पाउण्ड वाल निर्माण कार्य रोक्का राख्ने व्यवस्था गरिपाउँ भन्दै विगत लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । यसअघि पनि काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, प्रधानमन्त्रीको कार्यालय लगायत स्थानमा धरहरा बचाऔं भन्दै उनीहरुले दशौं हजारको हस्ताक्षरसहित ज्ञापनपत्र र आर्थिक संकलन गरेर बुझाएका थिए ।

उनीहरुले भीमसेन स्तम्भ (धरहरा) को दक्षिणतर्फ अवस्थित सार्वजनिक जग्गामा भइरहेको व्यवसायीक निर्माण कार्य रोकिनुपर्ने र सडक एवं राष्ट्रिय सम्पदा धरहरा जोगाउनुपर्ने माग गरेका छन् । त्यस्तै पुरातात्विक क्षेत्रमा गैरकानूनी ढंगले कुनैपनि पक्षको नक्सा जाँचपासबिना बन्न कम्पाउण्ड वालसहित व्यवसायिक भवन बन्दा धरहराको पुनर्निर्माणमा त्यसले कस्तो असर पार्ला भन्दै उनीहरुले सरकार र सरोकार पक्षको ध्यानाकर्षणसमेत गराएका छन् । साथै उनीहरुले ५१० नम्बर कित्ताको जग्गामा कुनै पनि निर्माण कार्य गर्न÷गराउन नपाउने व्यवस्था गरी राष्ट्रिय सम्पदाको जगेर्ना गरि पाउँ भनेर माग गरेका छन् ।

प्रकाशित : १३ पुस २०७५, शुक्रबार ००:००