७ जेष्ठ २०७९, शनिबार । May 21, 2022

मुख्य खबर

पाटन संग्रहालयमा १३ औँ शताब्दीको इन्द्रको मखुण्डो



ललितपुर, २० असोज (रासस) ः सुन्दरी चोकदेखि केशवनारायण चोक हुँदै पाटन संग्रहालयसम्मको मल्ल राजाबाट प्रत्यक्ष शासन चलाइँदै आएको पाटन दरबार स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षणको केन्द्रका रुपमा विकास भइरहेको छ ।

संग्रहालयको रुप दिइएको दरबारमा १८ औँ शताब्दीका चक्रसम्भव र वज्रबाराही, १२औँ देखि १३औँ शताब्दीका पद्यपाणि लोकेश्वर तथा वसुन्धराको मूर्ति, १४ औँ शताब्दीका शाक्यमुनि बुद्ध र पार्वतीको १०८ रुपमध्ये एक मानिएको सिद्धिलक्ष्मीको मूर्ति पर्यटकको आकर्षणको केन्द्र रहेका छन् । त्यस्तै विसं २०३५ तिर फर्पिङमा पाइएको १३ औँ शताब्दीको इन्द्रको मखुण्डो, १७ औँ शताब्दीको हनु भैरवको मखुण्डो, चैत्य, स्वयम्भू स्तूप तथा बोधिसत्व र यमराज प्रमुख छन् ।

राजा सिद्धिनरसिंह मल्लकी रानीले चोखो पानी भर्ने गरेको सुन्दरी चोक, मूल चोक तथा तलेजु भवानीको मन्दिरमा पनि स्वदेशी तथा विदेशी पर्यटकको भीड लाग्ने गरेको छ । राजा सिद्धिनरसिंहले विसं १६९३ मा निर्माण गरेको चरासहितको शालिक अर्को आकर्षण रहेको छ । राजा योगनरेन्द्र मल्लले “जबसम्म मेरो शिरमा रहेको चरा उडेर जाँदैन, तबसम्म म जीवितै रहेको ठान्नू” भनेको विश्वास गरिएको संग्रहालयका सूचना अधिकारी सुनिल भण्डारीले जानकारी दिनुभयो । त्यसैले उनका लागि खाटमा ओछ्यान लगाएर नजिकै हुक्का पनि राखिने गरिन्थ्यो भनिन्छ ।

हरेक वर्ष असोज महिनादेखि झण्डै तीन महिनासम्म विदेशी पर्यटकको भीड रहने दरबार क्षेत्र र पाटन संग्रहालयमा वार्षिक १० लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक आउने गरेको संग्रहालयले जनाएको छ । पथप्रदर्शक बलसूदन राजभण्डारीले आफूले दैनिक ४०० पर्यटकलाई पाटन दरबार क्षेत्र तथा संग्रहालयसहित त्यस वरपर रहेका प्राचीन मन्दिर तथा चैत्यमा घुमाउने गरेको जानकारी दिनुभयो ।
विसं २०५८ देखि पथप्रदर्शकको काम गर्दै आउनुभएका राजभण्डारीले एशियाका भारत, चीन, युरोपलगायत अमेरिकाका नागरिक बढी मात्रामा पाटन दरबार क्षेत्रमा घुम्न आउने गरिएको बताउनुभयो । “पर्यटक सीधै ट्राभल गरेर घुम्नेभन्दा पनि ‘अन द स्पट ट्राभल’ गर्न रुचाउने गछ्र्रन्, ५० प्रतिशत पर्यटक यसरी घुम्ने गरेका छन् ”, उहाँले भन्नुभयो ।
संग्रहालयका निमित्त कार्यकारी प्रमुख सुरेशमान लाखेका अनुसार विकास समिति ऐनअन्तर्गत विसं २०५४ मा स्थापित संग्रहालय यसअघि राष्ट्रिय धातुकला संग्रहालयका रुपमा रहेको थियो । उहाँले सातौँ शताब्दीदेखि २०औँ शताब्दीसम्मका बहुमूल्य मूर्ति, धातु र मखुण्डो संग्रहालयमा प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

विशेष गरी पाटनका मूर्ति तथा कलाकृति बढी भए पनि काठमाडौँ उपत्यकासहित तिब्बत तथा तराई क्षेत्रलगायत देशैभरिका कलाकृति संग्रहालयमा छन् । भूकम्पबाट क्षतिग्रस्त कृष्ण मन्दिरको पुनःनिर्माण भूकम्प गएको एक सातापछि नै प्रारम्भ गरिएको, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ, तलेजु मन्दिरको दक्षिणी भाग र सुन्दरी चोकको पूर्वी भागको पनि निर्माण पूरा भएको जानकारी लाखेले दिनुभयो । ती सबै मन्दिरको पुनःनिर्माण काठमाडौँ उपत्यका संरक्षण कोषले गरिरहेको र उसले नै पुनःनिर्माण गरिरहेको मणिमण्डपको पुनःनिर्माण आगामी दुई महिनाभित्र पूरा गर्ने लक्ष्य छ ।

प्रकाशित : २० आश्विन २०७४, शुक्रबार ००:००