१७ बैशाख २०८१, सोमबार । April 30, 2024

मुख्य खबर

राष्ट्रपति भण्डारीबाट धन्यवाद



जेनेभा, २ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले हालै सम्पन्न निर्वाचनमा नेपाललाई आइएलओको गभर्निङ बोर्डमा निर्वाचित गरी सेवा गर्ने अवसर दिएकोमा सम्पूर्ण सदस्य राष्ट्रप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।

‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्व शिखर बैठक’ लाई विहिबार सम्बोधन गर्दै आभार प्रकट गर्नु भएको हो ।

लुइस अर्नेस्टो कार्लस रुडीले अध्यक्षता गर्नुभएको सो बैठकमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले राष्ट्रपति भण्डारीका साथै गणतन्त्र माल्टाका राष्ट्रपति मारिया लुइस कलिरो प्रेका तथा गणतन्त्र मरिससका राष्ट्रपति अमिना गुरिफ फकिमको परिचय दिनुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेपाली भाषामा बैठकलाई सम्बोधन गर्नुभएको थियो र सँगसँगै त्यसलाई अङ्ग्रेजी, फ्रान्सेली, स्पेनी, जर्मन, चिनियाँ, अरेबिक तथा रसियाली भाषामा अनुवाद गरिएको थियो ।

बैठकमा माल्टाका राष्ट्रपति मारिया लुइस कलिरो प्रेकाले दिगो विकासले गरिबी निवारण र सामाजिक विभेदका मुद्दा समाधान सहयोग गर्ने बताउनुभयो । उहाँले महिलाको सबै क्षेत्रको सहभागिताले उनीहरूलाई सबै क्षेत्रमा पहुँच प्रदान गर्ने उल्लेख गर्नुभयो ।

गणतन्त्र मरिससका राष्ट्रपति अमिना गुरिफ फकिमले आफ्नो मुलुकमा लैङ्गिक समानता स्थापना गर्न भएको प्रयासका विषयमा जानकारी दिँदै विश्वभर संयुक्त राष्ट्र सङ्घका निकाय तथा सरकारले गरेका प्रयासले यस अभियानलाई थप बल मिलेको बताउनुभयो ।

सम्बोधनपछि बैठकका अध्यक्ष लुइस अर्नेस्टो कार्लस रुडीले सम्मेलनको तर्फबाट राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उक्त बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, स्विट्जरल्यान्डका लागि नेपालका राजदूत तथा संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालको पनि उपस्थिति थियो । रासस

प्रकाशित : २ असार २०७४, शुक्रबार ००:००