१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

मुख्य खबर

विवरण फरक पर्दा चार सय परीक्षार्थीको इपिएस परीक्षा छुट्यो



 

काठमाडौँ, २७ जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाअन्तर्गत आज पहिलो दिन भएको परीक्षामा परीक्षा केन्द्रसम्बन्धी विवरण फरक पर्दा एक परीक्षा केन्द्रका ४०० परीक्षार्थीको परीक्षा छुटेको छ ।

एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट खुमलटारमा परीक्षा केन्द्रको प्रवेशपत्र नम्बरको विवरण अन्यथा पर्न गएकाले सिनं १००७२८७३ देखि १००७३५५८ सम्मका परीक्षार्थीमध्ये केही परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । सो केन्द्रमा ७५० जना परीक्षार्थी रहेकामा ४००को परीक्षा छुटेको हो ।

वैदेशिक रोजगार विभाग, इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले मानवसंशाधन कोरियासँगको सहमतिमा छुटेका परीक्षार्थीलाई यथाशक्य छिटो परीक्षा दिने व्यवस्था मिलाउन आवश्यक पहल भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “हामीले जेठ १९ गते परीक्षा केन्द्रको सूचना जारी गर्छौं भनेका थियौँ, तर १८ गते नै वेबसाइटमा राख्यौँ, सो परीक्षा केन्द्रको विवरण केही फरक परेपछि लगत्तै सच्यायौँ । तर परीक्षार्थीले पुरानै तालिका हेरेर गएछन् ।”

परीक्षामा ७५ हजार ५८० जनाले आवेदन दिएकामा आज शनिबार राजधानीको २६ वटा केन्द्रमा ३७ हजार बढीले भाषा परीक्षामा सहभागी भए । बाँकीले भोलि आइतबार परीक्षा दिनेछन् । बिहान र दिउँसो गरी दुई चरणमा परीक्षा भइरहेको छ ।

भाषा परीक्षामा सहभागीमध्ये १० हजार २०० जना मात्र उत्तीर्ण हुनेछन् । जसमा कृषि क्षेत्रमा छ हजार २०० र उत्पादनमा चार हजार उत्तीर्ण हुनेछन् । परीक्षामा नौ हजार ७९६ महिला र ६५ हजार ७८४ पुरुषले आवेदन दिएका छन् ।

एकाउन्न हजार २०२ जनाले कृषिमा र २४ हजार ३७८ उत्पादनमा आवेदन दिएका छन् । परीक्षाका लागि कोरियाबाट परीक्षा सञ्चालक ५५ जनाको टोली आएको छ ।

यसैबीच इपिएस परीक्षा दिनका लागि गएका पिनाकल कलेज, लगनखेल सेन्टरबाट तीनजना, लिटिल एञ्जल कलेज सेन्टरबाट एकजना र एसियन कलेज खुमलटार सेन्टरबाट एकजना गरी पाँचजना नक्कली परीक्षार्थीलाई आज प्रहरीले पक्राउ गरेको छ । रासस

प्रकाशित : २७ जेष्ठ २०७४, शनिबार ००:००