२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

तीनदिने अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन पशुपतिमा



काठमाडौँ, १५ भदौ । सनातन संस्कृति समाज नेपालको आयोजनामा तीनदिने अन्तर्राष्ट्रिय हिन्दू सम्मेलन आज पशुपति क्षेत्रमा शुरु भएको छ ।

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अमेरिकाका गरी ३०० भन्दा बढीको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै समाजका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख हरिबोल भट्टराईले नेपालबाट हिन्दू र बौद्ध धर्मलाई नाश गर्न धर्म निरपेक्ष घोषणा गराइएको आरोप लगाउनुभयो ।

जगद्गुरु नृसिंहाचार्य ऋषिपाल आनन्दजी महाराज, अन्तर्राष्ट्रिय ब्राह्मण समाजका अध्यक्ष डा सुरेशचन्द्र कौशिक, महामन्त्री ऋषि शर्मा, सदस्य आरके रितवाल, जगद्गुरु कृष्णस्वरुप ब्रह्मचारी, पाकिस्तानको पञ्चमुखी हनुमान मन्दिरका सन्त स्वामी रामनाथ मिश्र, आयुर्वेद विश्व परिषद् तथा सार्वभौम सनातन महासभाका महामन्त्री डा हर्षवद्र्धन शर्मालगायतले वैदिक दर्शनमा रहेका जीवनोपयोगी विषयको प्रचारप्रसारका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा ‘उदीयमान अध्यात्मः सनातन हिन्दूत्वको पुनर्जागरण’, ‘वैदिक सनातन हिन्दू धर्ममा महिला लैंगिक समावेशिता र महिला सशक्तीकरण’, ‘छूवाछूत तथा विभेदका सवालहरुः के वैदिक सनातन धर्ममा अस्तित्वमा छन् ?’, ‘सांस्कृतिक अतिक्रमणका समस्याहरुः वैदिक सनातन धर्ममा देखिएका चुनौतीहरु’, ‘के नेपाल सनातन हिन्दू धर्मको मूल केन्द्र हुन सक्छ ?’, ‘२१ औँ शताब्दी अनुकूलको वैदिक सनातन धर्मः कसरी सम्भव छ ?’, ‘विश्व तापमान मौसम परिवर्तनः वैदिक सनातन धर्ममा समस्या समाधान’, ‘सनातन हिन्दू धर्मको उद्विकास पूर्वीय धर्म दर्शन र विज्ञान वैदिक संस्कृति’ तथा ‘विज्ञान र वैज्ञानिकः अध्यात्मतर्फको सहकार्य’ गरी नौ वटा कार्यपत्र प्रस्तुत हुने आयोजक समितिका सदस्य सुरजराज काफ्लेले बताउनुभयो ।

उद्घाटनपछि आज पत्रकार एवम् साहित्यकार दीनेश सत्याल (सौरभ) ले ‘सांस्कृतिक अतिक्रमणका समस्याहरुः वैदिक सनातन धर्ममा देखिएका चुनौतीहरु’ विषयको कार्यपत्र प्रस्तुत गर्नुभयो । जसमाथि आजै छलफल भयो । बाँकी कार्यपत्रमाथि शुक्रबार र शनिबार छलफल हुने आयोजक समितिका सदस्य त्रिलोचन पौडेलले जानकारी दिनुभयो । सम्मेलन भदौ १७ गते शनिबार समापन हुनेछ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००