२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

मुख्य खबर

‘जागिर लगाइ दिन्छु’ भन्दै ठग्ने विजय पाण्डे प्रहरी खोरमा



काठमाडौं २४, असार । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा जागिर लगाइ दिन्छु भन्दै ठग्ने ३४ वर्षीय एक युवक अन्ततः प्रहरीको खोरमा परेका छन्।

आफू डब्लुएचओको कर्मचारी भएको र नेपालस्थित ललितपुरमा रहेको कार्यालयमा जागिर लगाइ दिने भन्दै फोन नम्बर लिएर ६ जनालाई ठगेको अभियोगमा नवलपरासी पूर्वी सुस्ता देउचुली नगरपालिका वडा नम्बर–१५ घर भएका विजय पाण्डेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

उनले चितवनको भरतपुर महानगरपालिका बस्ने निशानबाबु घिमिरेलाई विश्व स्वास्थ्य संगठनको कार्यालय ललितपुरमा जागिर लगाइ दिने भन्दै तीन लाख ५० हजार रूपैयाँ ठगेको अनुसन्धानको क्रममा खुलेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

उनले नवलपरासीकै दीपक खनाल, धनबहादुर क्षेत्री, मनाङ घर भएका काशी गुरुङ, यकिन ठेगाना नखुलेका सरिता भण्डारी र रमा घिमिरेलाई पनि डब्लुएचओमा जागिर लगाइ दिने भन्दै ठगेको खुलेको कार्कीले बताए। तर, कति रकम ठगिएको भन्ने खुलेको छैन।

‘पीडितहरूलाई सम्पर्क गरी अफर लेटर, रिलाइबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कागजातहरू समेत दिइ विश्वासमा लिएको पाइयो’, प्रहरी उपरीक्षक कार्कीले भने, ‘त्यसपछि २०७७ साल बैशाख २९ गतेदेखि २०७७ साल असार ७ गतेसम्म पटक–पटक गरी निजको बैंक खाता तथा आइएमईमार्फत १ लाख ८२, हजार रूपैयाँ पठाउन लगाएपछि सम्पर्कबिहीन भएको पाइयो।’

अनुसन्धानको क्रममा काठमाण्डौंको शंखमुलमा फर्निचर पसल सञ्चालन गर्दै आएका धनबहादुर बिष्टबाट पनि १८ लाख रूपैयाँको फर्निचरको सामान लिन्छु भनि ५० हजार रूपैयाँ ठगेको र अछामको तुर्माखाँद घर भएकी रञ्जु बुढालाई एक वर्षसम्म नक्कली कार्यालयमा काम लगाएर तलब नदिइ अभियुक्त पाण्डेले ठगेको खुलेको कार्कीले बताए।

उनलाई आवश्यक कारबाहीका लागि महाशाखाले प्रहरी परिसर काठमाडौं पठाएको छ।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००