२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

कानुन र नियमहरू संविधान विपरीत बन्न हुँदैन : कांग्रेस उपसभापति निधी



काठमाडौं १२, असार । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले नागरिकताको विषयमा ‘नेपालको संविधान –२०७२’ ले व्यवस्था गरे विपरीत कानुन निर्माण गर्न खोज्नु संविधानको उल्लङ्घन हुने बताएका छन्।

कानुन र नियमहरू संविधान विपरीत बन्न हुँदैन भन्ने संविधानवादको मान्यता रहेको पनि निधीले बताए।

सरकारले हालै नागरिकता सम्बन्धी विद्येयकमा विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने गरीको प्रावधान राख्ने तयारी गरेको छ।

कांग्रेसका जिल्ला सभापतिहरूसँग जुममार्फत गरेको ‘भर्चुअल’ अन्तरसम्वाद कार्यक्रममा बोल्दै केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका निधीले कानुन निर्माण गर्ने क्रममा संविधान विपरीत जान नहुने पनि बताए।

उनले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौताबारे कांग्रेस पार्टी र पार्टीको संसदीय दलले समर्थन गर्ने निर्णय गरिसकेको पनि उल्लेख गरे।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक पुरुषोत्तम दाहाल, सदस्य डा. जगदीशचन्द्र पोख्रेललसँगै ३० जिल्लाका सभापतिहरूले अन्तरसम्वादमा सहभागिता जनाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००