२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

अर्थ

मुग्लिन–पोखरा राजमार्ग सडक स्तरोन्नतीका लागि एकिवीको सहयोग



मंसिर २४, काठमाडौं । सडक पूर्वाधार विकाससहित कृषि परियोजना, खाद्य सुरक्षा तथा बागमती नदी सरसफाइ अभियानसहित चार परियोजनाका लागि एशियाली विकास बैङ्क (एडीबी) ले नेपाल सरकारलाई ३५ करोड डलर (३५८ मिलियन डलर) आर्थिक सहयोग गर्ने भएको छ ।

मङ्गलबार अर्थमन्त्रालयमा एक कार्यक्रमकाबीच एडीबी र नेपाल सरकारबीच ऋण सम्झौता भएको हो । एडीबीका तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर मुख्खटर खमुडीखानोव र नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयका सचिव राजन खनालले सहमतिपत्रमा हस्ताक्षर गरे ।

प्रमुखतः एडीबीको सहयोग मुग्लिन–पोखरा राजमार्ग सडक स्तरोन्नतीका लागि गरिएको हो । कुल ऋणको ५४ दशमलव ४७ प्रतिशत अर्थात् एक सय ९५ मिलियन अमेरिकी डलर मुग्लिन–पोखरा राजमार्ग स्तरोन्नतिमा खर्च गरिने सम्झौता पत्रमा जनाइएको छ ।

बाँकी ६३ मिलियन डलर ऋण बाढी पहिरोजस्ता विपत् व्यवस्थापन र बागमती नदी सरसफाईका लागि, ५० मिलियन डलर साना किसान विकास कार्यक्रमका लागि र ५० मिलियन डलर खाद्य सुरक्षा तथा कृषि परियोजनाका लागि खर्च गरिने जनाएको छ ।

नेपाली परियोजना तथा विकास निर्माणका कार्यमा सहयोग गर्दै आएको एडीबीले तीव्र विकासमा रहेको नेपाललाई पुनः पूर्वाधारसहित देशको विविध विकास निर्माण तथा कृषि, खाद्यान्न र नदी सरसफाइ परियोजनामा सहयोग गरेकोमा सरकारको तर्फबाट एडीबीलाई सचिव खनालले धन्यवाद दिए ।

प्रकाशित : २४ मंसिर २०७६, मंगलबार ००:००