१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

Uncategorized

दुई तिहाइ सरकारको मूल्याङ्कन जनताले गरिराखेका छन् : नेता नेपाल



नेकपाका वरिष्ठ नेता नेपाल
पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समिति भक्तपुरले शनिबार सूर्यविनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल । तस्बिर: रमेश गिरी


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन नेपाली जनताले गरिराखेको बताएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले सूर्यविनायकमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सबै नेपालीलाई सुखी बनाउने र सबैको अनुहारमा हाँसो ल्याउने योजनाका साथ काम गर्नुपर्ने चुनौती रहेको बताए ।

नेकपा र सरकार यतिखेर अग्नि परीक्षामा रहेको चर्चा गर्दै उनले भने, “अहिले सरकार र नेकपाको अग्नि परीक्षा शुरु भएको छ, वडा, नगर, प्रदेशदेखि केन्द्रसम्ममा भएको कामको जनताले मूल्याङ्कन गरिरहेका छन् ।” नेता नेपालले दुई तिहाइको यो सरकारले गरिरहेको कामको परिणाम आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनले देखाउने उल्लेख गर्दै अधिकांश नेकपाका नेताले जितेको स्थानमा उपनिर्वाचन हुने भएकाले ती स्थानमा आफ्नो शान जोगाउनुपर्ने बताए ।

उहाँले हिजो के भएको थियो भन्नुभन्दा पनि अहिले के गर्ने हो त्यसको योजना बनाएर काम गर्नुपर्ने भन्दै काम गर्दा कमीकमजोरी भए स्वीकार गर्ने र सुधार गर्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका छन् । उनले जनतालाई खुशी पार्ने ढङ्गबाट काम गर्नुपर्ने उल्लेख गरेका छन् । सरकार र नेकपामाथि आलोचना गर्नेहरुप्रति लक्षित गर्दै उनले भने, “अरूलाई हिलो छ्याप्नुभन्दा पहिला आफूलाई हेर्नुस्, आफूले के गरे, भन्ने आफँै समीक्षा गर्नुस् ।”

कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले अहिलेकै पूँजीवादी कार्यशैलीबाट समाजवादतर्फ उन्मुख हुन नसकिने भएकाले पूँजीवादी चरित्र र सामन्तवादको अन्त्य अपरिहार्य रहेको बताए । प्रतिष्ठानका जिल्ला अध्यक्ष धु्रवराज विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज दिलीप प्रजापति, केन्द्रीय सदस्य तथा जिल्लाका डेपुटी इन्चार्ज सोम मिश्रलगायतले दुई तिहाइ सरकारसँग जनताका असीमित अपेक्षा भएकाले त्यसलाई सम्बोधन गर्ने गरी कार्य गर्नुपर्ने चुनौती रहेको बताएका छन्

प्रकाशित : १८ आश्विन २०७६, शनिबार ००:००