३१ बैशाख २०८१, सोमबार । May 14, 2024

Uncategorized

सरकार जनताको हित विपरीत जान सक्दैन ः उपप्रधानमन्त्री पोखरेल



उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको हित विपरीत जान नसक्ने बताउनुभएको छ । काठमाडौँ चेम्बर अफ कमर्सले एक महीनादेखि आयोजना गरेको रक्तदान कार्यक्रमको आज समापन कार्यक्रममा उहाँले जनताको मतबाट गठन भएको सरकार जनताको हित विपरीत जान नसक्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकार अधिनायकवादी नभएको स्पष्ट पार्नुभयो । “आवधिक निर्वाचन, कानूनी शासन र जनतावाट अनुमोदित भएको सरकार अधिनायकवादी हुन सक्दैन”, उहाँले भन्नुभयो । उहाँले वर्तमान सरकार उद्योगी र व्यवसायीकोे समस्या समाधानमा गम्भीर रहेको उल्लेख गर्नुभयो । चेम्बर अफ कमर्सले भोगेका समस्याको समाधान गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो । 

उपप्रधानमन्त्री पोखरेलले हिजोका दिन लोकतन्त्रका लागि लडे पनि अहिले लोकतन्त्रभित्र बसेर यसभित्र रहेका गल्ती कमी कमजोरीलाई सच्याउन सरकार लागिपरेको बताउनुभयो । सरकार नीतिनियम र ऐनकानून निर्माणमा लागिरहेको उहाँको भनाइ थियो । 

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामाजिक क्षेत्रमा चेम्बर अफ कमर्सले गरेको कामको प्रशंसा गर्नुभयो । चेम्बरलाई परेको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर भएको बताउनुभयो । चेम्बर अफ कमर्स काठमाडौँका अध्यक्ष कृष्णमान श्रेष्ठले व्यवसायको सिलसिलामा उद्योगी–व्यवसायीले प्यान, राजश्व लगायतका विषयमा समस्या भोग्नुपरेको बताउनुभयो । कार्यक्रममा एकमहिने रक्तदान कार्यक्रममा सबैभन्दा धेरै रगत सङ्कलन गर्ने शाखालाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलबार ००:००