१९ बैशाख २०८१, बुधबार । May 2, 2024

बिचार

फोरम–राजपा एकीकरण किन ?





केही समयदेखि स्थिर रहेको मधेशको राजनीति फेरि एकचोटि तरंगित भएको छ । कैलालीबाट निर्वाचित राजपा नेपालका सांसद रेशम चौधरीलाई अदालतले आजीवन कारावासको फैसला सुनाउनु र अर्कोतिर पृथकतावादी अभियान चलाउँदै आएका डा. सीके राउत समूहसँग सरकारले गरेको ११ बुँदे सहमतिसँगै समग्र देशको राजनीति अहिले मधेश केन्द्रित भएको छ ।
संविधान घोषणा हुनुभन्दा पहिलेदेखि नै मधेशका मुद्दाहरू सम्बोधन नगरिएको र आफूहरूलाई बाहिर राखी जर्बरजस्ती संविधान जारी गरिएको भन्दै मधेश केन्द्रित दलले असन्तुष्टि जनाउँदै आएका थिए । त्यस विरूद्ध उनीहरूले तेस्रो पटक मधेश आन्दोलन गरेका थिए । आन्दोलनकै क्रममा ५६ जनाभन्दा बढीको ज्यान गएको थियो । त्यही समयमा कैलालीको टीकापुरमा भएको घटनमा राजपाका नेता रेशमलाल चौधरीको संलग्नता भएको भन्दै अदालतले दोषी ठहर गरी आजीवन कैदको सजाय सुनाएको छ । अदालतको यो फैसलासँगै राजपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । र यहि समयमा सरकारले सिके राउतसँग ११ बुँदे सहमति गरेर मधेशलाई झन तरंगित बनाइ दिएको छ । रेशम चौधरीको आजिवन काराबास, राजपा नेपालको सरकारलाई दिएको समर्थन फिर्ता र सिके राउतसँगले सहमति जस्ता घटनाले विकास भएको राजनीतिले मधेशलाई फेरि एक पटक हल्लाएको छ । यहि तरंगका बीच मधेशका दुई शक्तिबीच एकीकरणको प्रयास थाल्नु अर्को चासोको विषय बनेको छ ।
अन्योलमा राजपाको महाधिवेशन
मधेशका मुद्दालाई केन्द्रमा राखेर राजनीति गर्दै आएका ६ वटा विभिन्न मधेशी दलहरू एक भई २०७४ वैशाख ७ गते राष्ट्रिय जनता पार्टी नेपाल राजपा गठन भएको हो । उसले स्थापनाको एक वर्ष अर्थात २०७५ मा महाधिवेशन गरीसक्ने जनाएको थियो । निर्धारित समयमा महाधिवेशन गर्न असम्भव भएपछि राजपा नेपालको राजनीतिक समितिको बैठकबाट २०७६ वैशाख ७, ८ र ९ गते महाधिवेशनको नयाँ मिति ताकेको छ ।
महाधिवेशनको तयारीका लागि हुनुपर्ने वडा, पालिका, प्रदेशस्तरको अधिवेशनहरू अहिलेसम्म भइसकेको छैन । जबकि तोकिएको महाधिवेशनको समय आउन अब लगभग तीन सातामात्र बाँकी छ । यस्तो अवस्थामा तोकिएकै समयमा महाधिवेशन हुनेमा आशंका बढ्न थालेको छ । तर, राजपा पार्टीका अध्यक्ष मण्डलका नेता महेन्द्र राय यादव भन्नुहुन्छ – ‘अहिलेसम्म हामी तोकिएकै मितिमा महाधिवेशन गर्ने पक्षमा छौं । अध्यक्षमण्डलको बैठक बसेर महाधिवेशनको विषयमा टुंगो लाग्छ ।’ यादवले यसो भनिरहँदा पनि महोधिवेशन समयमै हुने बारे सुनिश्चिता छैन । शीर्ष नेताहरूबीच रहेको ‘अमझदारी’ लाई ढाकछोप गर्न प्राविधिक कारणले महाधिवेशन हुन नसक्ने प्रवल सम्भावना छ ।
मूलधारको राजनीतिमा सीके राउत
सरकारसँग अकस्मात् ११ बुँदे सम्झौता गरेर जनकपुर पुगेका सीके राउतले सिराहको लहानमा स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक बोलाएर ‘जनमत पार्टी’को घोषणा गरे । उनले अब संविधान बमोजिम नै आफ्ना गतिविधि अगाडि बढाउने धारणा सार्वजनिक गरेका छन् । अबको केही दिनभित्रै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भइरहेको बुझिएको छ । सीके राउतको यो यू–टर्नलाई कतिपय विश्लेषकहरूले राउतको मूलधारको राजनीतिमा प्रवेशको रूपमा अथ्र्याएका छन् । सीके राउतको दल दर्तासँगै उनले मधेशलाई नै केन्द्रविन्दु बनाएर राजनीति गर्छन् वा संमग्र देशभरि नै आफ्नो संगठन विस्तार गर्छन् भन्ने आम चासोको विषय भएको छ ।
फोरम–राजपा एकीकरण
पटक–पटक एकताको प्रयास भएपनि टुंगोमा पुग्न नसकेको राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालले एकपटक फेरि एकीकरणका लागि मिलन बिन्दुको खोजी सुरू गरेका छन् । दुवै दलले एकीकरणका लागि औपचारिक रूपमा छलफल सुरू गरिसकेका छन् । राजपा नेपाल अहिले प्रतिपक्षी दल हो भने फोरम नेपाल सत्ता साझेदार दल हो । प्रदेश २ मा राजपा र फोरमको संयुक्त सरकार छ । आफ्ना मागहरू पुरा नगरेको भन्दै राजपा नेपालले सरकारको कडा रूपमा आलोचना गर्दै आइरहेको छ भने संघीय समाजवादी फोरम नेकपा नेतृत्वको सरकारले गरेका कतिपय निर्णयमा फरक मत राख्दै आएको छ ।
फोरमले गत पुस ११ मा राजपा नेपाललाई पार्टी एकताको लागि पत्र पठाएको थियो त्यतिबेला राजपा सरकार समर्थक दल थियो । मधेशी, जनजाति र समावेशी एजेन्डालाई राज्यले बेवास्ता गरेको, समान विचार र धारणा बोक्ने पार्टी एक ठाउँमा हुनुपर्ने आशय सहितको पत्र फोरमले राजपालाई पठाएको थियो । राजपाको प्रतिक्रिया आउनुभन्दा पहिले नै फोरमले राजपासँग एकीकरणका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति पनि गठन गरिसकेको थियो ।
फोरम नेपालले चैत्र ६ गते राजपालाई अर्को पत्र पठाउँदै कुनै दल सरकारमा र कुनै दल सरकार बाहिर भएकै कारणले मात्र पार्टी एकीकरण जस्तो महत्वपूर्ण कार्यमा बाधा, अवरोध हुनुहुँदैन, सरकार छोड्ने विषय रणनीतिक तथा कार्यनीतिक सवाल मात्र भएको आशयको पत्र राजपालाई पठाएको छ । पार्टी एकीकरण गर्न पार्र्टीहरूबीच, उद्देश्य, नीति, कार्यक्रम, सिद्धान्त र विचार मिल्नुपर्छ फोरमले पत्रमा उल्ल्ेखित गरेको छ । एकीकरण हुनासाथ सरकार वा विपक्षमा कहाँ रहेर के कार्य गर्ने र कस्तो भूमिका खेल्ने भन्ने विषयमा निर्णय गरेर अगाडि बढ्न सकिन्छ फोरमले राजपालाई पठाएको पत्रमा उल्लेख गरेको छ । राजपाले एकीकरणको लागि फोरम सरकारबाट बाहिर आउनुपर्ने बताउँदै आएको छ । एउटा सरकारबाट बाहिर भएको दल र अर्को सरकारमा भएको दलबीच एकीरकण सम्भव नभएको राजपाको तर्क छ ।
बाहिरी रूपमा दुई चरणमा पार्टी एकीकरणको लागि फोरमबाट प्रस्ताव आएको भएपनि आन्तरिक रूपमा राजपा र फोरमले पार्टी एकीकरणका लागि गम्भीर छलफल गरिरहेको छ । फोरम र राजपाबीच विगतमा पनि एकीकरणको प्रयास नभएका होईनन् । तर सीके राउत र रेशम चौधरी प्रकरणले यी दुई शक्तिहरू एक हुन झन् अपरिहार्य भएको छ । (मधेश दर्पण फिचर सेवा)

प्रकाशित : २७ चैत्र २०७५, बुधबार ००:००