२० बैशाख २०८१, बिहिबार । May 3, 2024

मुख्य खबर

स्थिरताका कारण देश विकास सहज : प्रधानमन्त्री ओली



 

रौतहट, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिरताका कारण देश विकास सहज भएको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश नम्बर २ कमिटीले आयोजना गरेको आमसभालाई आज रौतहटको गरुडास्थित इनर्वाहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका काम कुनै पनि कारणले रोकिन नसक्ने बताए । “स्थिरता र बहुमत भएकाले देशलाई अगाडि बढाउन सक्छौं,” उहाँले भन्नुभयो, “एउटा प्रदेशमात्र होइन, सिंगै देश विकास गर्ने हो ।”
तराईको विकासका लागि ३ सय ५२ सय करोड रकम छुट्याएको प्रधानमन्त्रीले जानकारी दिए ।
संविधान बमोजिम संरचना निर्माण भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सबै तहले विकासलाई तीब्र प्राथमिकतामा राखेको बताए ।
प्रधानमन्त्री ओलीले आमसभामा लाखौंको उपस्थितिले धेरै कुराको जवाफ दिएको बताए । उनले एउटा चुनाव जित्दैमा धेरै फुर्तीफार्ती नगर्न राष्ट्रिय जनता पार्टीलाई आग्रह गरे ।
सीके राउत नेतृत्वको स्वतन्त्र मधेस अभियान नेपालको संविधान सार्वभौमसत्ता अक्षुणतामा सहमत भएर देश निर्माण अभियानमा सहभागी भएकोमा प्रधानमन्त्रीले खुसी व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले रौतहट र तराईको विकासका लागि चन्द्रानिगाहापुर सडक, गरुडामा खानेपानी आयोजना, नगरपालिकाको चक्रपथ निर्माण, कृषिको आधुनिकीकरण र मलको उपलब्धता, दरबन्दी नभएका विद्यालयमा दरबन्दी थप गर्ने प्रतिबद्धता जनाए ।
लालबकैयाको बाढीपीडितको समस्या आफूलाई पहिल्यै जानकारी भएको बताउँदै प्रधानमन्त्रीले भारतीय बाँधको डुबानबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरिसकेको जानकारी दिए ।
अन्धविश्वास, कुरीति अब सहन नसकिने बताउँदै प्रधानमन्त्रीले भने “बोक्सी लाग्ने भए चुनावमा अरुलाई हराएर बोक्सीले चुनाव जितिहाल्थे नि । लु मलाई कसैले बोक्सी लागेर देखाओस् त !”
कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले पनि सम्बोधन गरे ।

तस्विर प्रधानमन्त्रीको सचिवालय

प्रकाशित : २५ फाल्गुन २०७५, शनिबार ००:००