१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

ग्लोबल

ट्रम्प–किम दोस्रो शिखर बैठक मिति तय भयो



वासिङटन, २६ माघ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको दोस्रो शिखर बैठक यही फेब्रुअरी २७ र २८ तारिखमा हुने भएको छ ।

भियतनामको हनोइमा किमलाई भेट्ने मिति तय भएको बारेमा ट्रम्पले शुक्रबार जानकारी दिनुभएको हो ।

“मेरा प्रतिनिधि भर्खरै मात्र महत्वपूर्ण उपलब्धिका साथ उत्तर कोरियाबाट स्वदेश फर्किदै छन्, उनीहरुले दोस्रो शिखर बैठकको स्थान र मितिको टुङ्गो लगाएका छन्,” ट्रम्पले ट्वीटरमा लेख्नुभएको छ ।

उत्तर कोरियाका लागि आफ्ना विषेश प्रतिनिधि स्टेफान बिएगनलाई उद्धृत गर्दै उहाँले दोस्रो शिखर बैठक भियतनामको हनोइमा यही फेब्रुअरी २७ र २८ तारिखमा हुने जानकारी सामाजिक सञ्जालमार्फत् दिनु भएको हो ।

उहाँले अर्को ट्वीटमा लेख्नु भएको छ, “नेता किम जोङ् उनको नेतृत्वमा उत्तर कोरिया आर्थिक शक्तिराष्ट्र बन्ने छ ।”

ट्रम्पले किम कति क्षमतावान हुनुहुन्छ भन्ने बारेमा आफूले राम्रोसँग थाहा पाएको बताउनु भएको छ ।

लामो समयदेखि एक अर्कालाई कठोर शत्रुका रुपमा हेर्दै आएका उत्तर कोरिया, संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच यसअघि गत जुनमा सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो ।

गत मङ्गलबार संसदलाई सम्बोधन गर्दा पनि राष्ट्रपति ट्रम्पले पहिलो शिखर बैठकपछिका उपलब्धिका बारेमा धेरै चर्चा गर्नु भएको थियो । उहाँले भन्नुभयो, “हाम्रा बन्दी घर फर्किएका छन्, परमाणु परीक्षण रोकिएका छन्, गएको पन्ध्र महिनामा एउटा पनि क्षेप्यास्त्र प्रहार भएको छैन र यो ठूलो उपलब्धि हो ।”

उहाँले यदि आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए, अहिले अमेरिका र उत्तर कोरियाका बीचमा ठूलो युद्ध हुने दाबी गर्नु भएको थियो ।

प्रकाशित : २६ माघ २०७५, शनिबार ००:००