२२ बैशाख २०८१, शनिबार । May 4, 2024

मुख्य खबर

नगरप्रमुखद्वारा आफ्नो तलबबाट अक्षयकोष स्थापना



पर्वत, १२ माघ ।  आफू जनप्रतिनिधि भएबापत राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिबद्धता जनाउनुभएका कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले फेरि अर्को सराहनीय काम गर्नुभएको छ ।

उहाँले जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा रहेको शुभकल्याण आधारभूत विद्यालयको शैक्षिक विकासका लागि आफ्नो दुई महीना बराबरको तलब रु ७० हजारबाट अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयको ५७आँै वार्षिकोत्सवको अवसरमा पहिलोपटक अक्षयकोष स्थापना गरेर रकम सहयोग गर्नुभएको हो । उहाँले यसअघि नगरपालिकाभित्रका विपन्न, असहाय विद्यार्थीको पठनपाठन, न्यानो कपडा वितरण, बिरामीलाई उपचारलगायतका कार्यमा सहयोग गर्दै आउनुभएको थियो ।
आफु निर्वाचित भएको झण्डै २२ महिना पुगिसकेको र अहिलेसम्म आफूले प्राप्त गरेको तलब, भत्ताबाट प्राप्त गरेको रकम नगरवासीकै सेवामा खर्च गरेको नगरप्रमुख जोशीले बताउनुभयो । उहाँले कुश्मालाई नेपालकै नमूना नगरपालिकाको रुपमा विकास गर्न थालिएको बताउँदै अब नगरका सवै वडामा कालोपत्रे सडक, घरघरमा खानेपानीका धारा, शिक्षा, स्वास्थ्य, सिँचाइलगायतका पूर्वाधारको एकीकृत रुपमा विकास गरिने बताउनुभयो ।

प्रकाशित : १२ माघ २०७५, शनिबार ००:००