२० बैशाख २०८१, बिहिबार । May 3, 2024

मुख्य खबर

‘निर्मला हत्यामा गम्भिरताका साथ अनुसन्धान भइरहेको छ’



काठमाडौँ, ८ माघ ।   नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याबारे प्रहरीले इमान्दारपूर्वक उच्च प्राथमिकता साथ अनुसन्धान गरिरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले पन्तको हत्याको अनुसन्धानमा प्रहरीलाई कुनै दबाब नआएकाले चाँडै दोषी पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो । “नेपाल प्रहरीलाई निर्मला हत्याको दोषीलाई सार्वजनिक गर्न हतार छ,”–उहाँले भन्नुभयो ।

उहाँले समाजमा पेशेवर अपराध, गुण्डागर्दी, प्राकृतिक स्रोत साधन दोहन गर्ने समूह घटेपनि सामाजिक विकृतिका घटना बढेको बताउनुभयो । प्रवक्ता सुवेदीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई सफल बनाउन ७४७ स्थानीय तहमा समझदारी भइसकेको र १० हजार विभिन्न समिति निर्माण भइसकेका स्पष्ट पार्नुभयो ।

उहाँले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरेपछि एक हजार १५० फरार अपराधी पत्ता लाग्नुका साथै १५० थान अवैध हातहतियार बरामद गरिएको बताउनुभयो । प्रहरीले बलात्कारका घटनामा ९७ प्रतिशतसम्म सफल अनुसन्धान गरिसकेको उहाँको भनाइ छ ।

प्रवक्ता सुवेदीले रामबहादुर बम्जनको आश्रमबाट पाँच जना बेपत्ता भएको घटनाबारे प्रहरीले उच्च प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताउनुभयो । उहाँले ३३ किलो सुन प्रकरणपछि अवैध सुन समात्ने क्रम बढेको जानकारी दिनुभयो ।

प्रकाशित : ८ माघ २०७५, मंगलबार ००:००