१४ बैशाख २०८१, शुक्रबार । April 27, 2024

मुख्य खबर

धौलागिरिका सबै स्वास्थ्य संस्थामा प्रसूति केन्द्र



 

म्याग्दी, १९ पुस म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको सबै वडामा प्रसूति केन्द्र सञ्चालन भएको छ । घरमै असुरक्षित रुपमा सुत्केरी हुने र सुत्केरी हुनका लागि छिमेकी वडा, जिल्ला सदरमुकाममा पुग्नुपर्ने समस्या हटाउन गाउँपालिकाको पहलमा प्रसूति केन्द्र सञ्चालन भएको हो । गत वर्ष ५ नम्बर वडामा पर्ने मल्कवाङ र गत हप्ता चार नम्बर वडा मुदीमा रहेको स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको हो ।

मुदीसँगै सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको सबै वडाका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन भएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेलले जानकारी दिनुभयो ।

यसअघि धौलागिरिको मुदी स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टरको सुविधा थिएन् । मुदीमा बर्थिङ सेन्टर शुरु भएपछि मुदी र नेरवाङका ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । यसअघि गत वर्ष ५ नम्बर वडा मल्कवाङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बर्थिङ सेन्टर सञ्चालन भएपछि सुरक्षित प्रसूति सेवामा सहज पहुँच स्थापित भई मातृ शिशु स्वास्थ्यमा सुधार हुने अध्यक्ष पुनले बताउनुभयो । बर्थिङ सेन्टर सञ्चालनका लागि गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाले औजार, उपकरण उपलब्ध गराएको छ ।

पूर्वाधार व्यवस्थापनका लागि गाउँपालिकाबाट चालू आवमा रु एक लाख विनियोजन गरिएको वडाध्यक्ष बेगप्रसाद घर्तीले जानकारी दिनुभयो । एक जना तालीमप्राप्त अनमीको पनि व्यवस्था गरिएको छ ।

मुदीमा बर्थिङ सेन्टर नहुँदा यसअघि त्यहाँका गर्भवती सुरक्षित प्रसूति सेवाका लागि मुना, ताकम स्वास्थ्य चौकी, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बेनी अस्पताल र पोखरा पुग्नुपर्ने बाध्यता थियो । प्रसूति सेवाका लागि गाउँबाहिर जानुपर्दा रु ५० हजारभन्दा बढी आर्थिक खर्चको जोहो र हप्ताँै समय लाग्ने गरेको थियो । आर्थिकरुपमा विपन्न समुदायका गर्भवती घरमै असुरक्षित रुपमा प्रसूति हुन बाध्य थिए । प्रसूति केन्द्र सञ्चालन भएपछि समय र आर्थिक खर्चको बचत हुनुका साथै जोखिम न्यूनीकरण भएकोमा मुदीका महिला खुशी भएका छन् ।

प्रकाशित : १९ पुस २०७५, बिहिबार ००:००