१९ बैशाख २०८१, बुधबार । May 1, 2024

मुख्य खबर

बालबालिकाको चेहरामा खुशी देखें म पनि खुशी हुन्छु : प्रधानमन्त्री ओली



काठमाडौं,१८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका बालबालिकाको चेहरामा खुशी देख्दा आफू पनि खुशी हुने बताउनुभएको छ ।
नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा एक विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “बालबालिकाको चेहरामा खुशी देंखे भने म पनि खुशी हुन्छु ” प्रधानमन्त्री ओलीले भन्नुभयो “नयाँ पिडिको चेहरामा मुस्कान हुनुपर्दछ । मानिसहरु भोकबाट मुक्त हुनुपर्दछ । कठ्यांग्रिएर मर्ने अवस्था आउनु हुदैन । समाज समतामुलक हुनुपर्दछ । त्यस्तो अवस्थामा सबै नेपालीसँगै म पनि खुशी हुन्छु ।”
बालबालिकाहरुले प्रधानमन्त्री ओलीलाई बाल्यकाल कसरी वित्यो भनेर जिज्ञासा राखेका थिए । पूर्वी पहाडको तेह्रथुम जिल्लाको छातेढुंगामा २००८ सालमा जन्मिएको सुनाउंदै प्रधानमन्त्री ओलीले प्राथमिक स्कूल पढ्दा दुई प्रकारका होमवर्क गर्नु परेको सुनाउनु भएको थियो । “एउटा विद्यालयका शिक्षकले दिएको होमवर्क र अर्को घरमै सृजना हुने होमवर्क जस्तै घाँस दाउरा,गाई बाख्राको हेरचाह आदि ” प्रधानमन्त्री ओलीले भन्नुभयो “दुवै होमवर्क म कुशलतापूर्वक गर्थें ।”
प्रधानमन्त्री ओलीलाई सामुदायिक विद्यालयका एक विद्यार्थीले सोधे “सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नै पुग्दैनन् । शिक्षाको गुणस्तर कसरी वृद्धि हुन्छ ?” प्रधानमन्त्री ओलीले विद्यार्थीलाई पाठ्यपुस्तक नपुग्ने विषय अब इतिहास भइसकेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “समयमा पाठ्यपुस्तक नपुग्ने अब हुदैन । र,आगामी बर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर पनि हुदैनन् ।” प्रधानमन्त्री ओलीले अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकोले त्यसको जानकारी लिनै पर्ने तर त्यसो गर्दा नेपाली भाषा नजाने पनि हुने अथवा नेपाली भाषा नजानेकोमा गर्व गर्न नहुने बताउनुएको छ । “विद्यालयहरुले अंग्रजी माध्यममा पढाउनु राम्रै हो । त्यसो गर्दा नेपाली भाषाचाँही नजाने पनि अथवा नपढाए पनि हुन्छ भन्ने चाँही होइन ,आफ्नो राष्ट्रिय भाषा र मातृभाषामा सबैको दख्खल हुनुपर्दछ ।”
बालबालिकाले प्रधानमन्त्री ओलीलाई निर्मला पन्तको बलात्कार र हत्याको बिषयमा पनि जिज्ञासा राखेका छन् । प्रधानमन्त्री ओलीले यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरकार गम्भिर रहेको बताउनुभएको छ । “निर्मलाको बलात्कार र हत्याका दोषीहरुको खोजी भइरहेको छ । उनीहरु पत्ता लाग्छन् । सुरुवाती चरणमा प्रहरीबाट पनि केही गल्ती भएको छ । अहिले उच्च स्तरीय छानविन समिती गठन गरेर अनसुन्धान भइरहेको छ । नेपाल प्रहरी यस्ता घटनाको अनुसन्धान गरेर अपराधी पत्ता लगाउन सक्छ । अपराधी पत्ता लगाउन मैले पटक पटक निर्देशन पनि दिएको छु ।”
तस्विर प्रधानमन्त्रीको सचिवालय

प्रकाशित : १७ पुस २०७५, मंगलबार ००:००