२२ बैशाख २०८१, शनिबार । May 4, 2024

मनोरञ्जन

नयाँ चलचित्र ‘पुरानो बुलेट’



काठमाण्डौं । नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ निर्माणको घोषण भएको छ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी सो चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन । असार १५ गतेदेखि छायांकन सुरु हुने निर्माण पक्षले जनाएको छ ।
‘पुरानो बुलेट’ मा अनुपविक्रम शाही, बर्षा शिवाकोटी र माला लिम्बू प्रमुख भूमिकामा छन् । यस्तै अन्य कलाकारहरुमा कविता आले मगर, कृष्णभक्त महर्जन, शिव मुखिया, शिरोमणि दवाडी, विराज राई लगायतले अभिनय गर्ने छन् । पत्रकार सम्मेलनमा कलाकारहरुले आफ्नो भूमिका बारे संक्षिप्त भनाई राखेका थिए ।
यहि चलचित्र मार्फत पत्रकार भीषण राई निर्देशनमा डेव्यू गर्दैछन् । लामो समय इन्टरटेनमेन्ट बीटमा कलम चलाएका र चलचित्र क्षेत्रमा संलग्न भएका राईको निर्देशनबाट चलचित्र उद्योगले राम्रो चलचित्र पाउने अपेक्षा गरिएको छ ।

 

‘पुरानो बुलेट’ का निर्माता अशोक साम्पाङ राई, विरेन साम्बा, दिपेन लिम्बु, टिकाराम राई रहेका छन् भने कार्यकारी निर्माता सन्तोष राई रहेका छन् । सो चलचित्रको कथा सन्तोष राई र भीषण राईले लेखेका हुन् । यस्तै पुरानो बुलेट चलचित्रमा उत्तमजंग लिम्बुको संगीत, थिम सङ जयन जे वाईवाको छ भने राजेश पायल राई, मेलिना राईको स्वर गायन रहने छन् ।

एक करोडको लागतमा निर्माण हुने यो फिल्मलाई आउँदो मंसिरमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । घोषणा कार्यक्रममा नायिका वर्षाले आफू जन्मिएको ठाउँ मोरङमा चलचित्रको सुटिङ हुने कुराले दंग भएको सुनाइन् ।

नायक अनुप र नायिका मालाले पनि चलचित्रमा जोडिन पाएकोमा खुशी व्यक्त गरे । सोही कार्यक्रममा क्रेजी इन्टरटेनमेन्टका चलचित्र निर्माता विरेन साम्वाको केक काटेर वर्थ डे मनाइएको थियो ।

चलचित्रलाई हरि लामा घलेले खिच्ने भएका छन् । चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा निर्देशक मिलन चाम्स, चलचित्र निर्माता ज्योतिराज राई लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : १० असार २०७५, आइतबार ००:००