२१ बैशाख २०८१, शुक्रबार । May 4, 2024

मुख्य खबर

पूर्वगृहमन्त्री शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार



रुकुम, २४ कात्तिक (रासस) : बिना विभागीय मन्त्री तथा पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी आज दुईवटा बम प्रहार भएको छ ।

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ गोइरीमा विहान ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ ।
चौरजहारी नगरपालिकाको चुनावीसभा सकेर पूर्व गृहमन्त्रीसमेत रहनुभएका शर्मासहित प्रचार टोलीले सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ आउँदै गर्दा सडकमाथिबाट बम प्रहार भएको हो । उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको जनाएको छ । शर्मा चढेको गाडीको अघिल्लोतिर परेको एउटा बम पड्केन भने अर्काे पड्केको प्रहरीको भनाइ छ । पड्केको पनि सडकमा धेरै धुलोमा परेका कारण धेरै असर नभएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

उम्मेदवार शर्माले आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरेको बताउनुभयो । कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको उहाँको भनाइ छ । प्रहरीले निर्वाचन विरोधी समूहको काम हुन सक्ने अनुमान गरिएको छ । अहिलेसम्म बम प्रहार गर्नेको बारेमा केही जानकारी नआएको जनाएको छ ।

घटनामा संलग्न समूह वा व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ । केही दिनअघि सोहि पार्टीका कार्यकर्ताले शर्माकै घरमा कालो ब्यानर राखेका थिए ।

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार ००:००