२० बैशाख २०८१, बिहिबार । May 3, 2024

मुख्य खबर

अझै भेटिएनन् नदीमा बेपत्ता एक मलामी



पाल्पा, १६ कात्तिक (रासस) : बुधबारदेखि कालीगण्डकी नदीमा बेपत्ता बनेका एक युवा अझै फेला पर्न सकेका छैनन् ।

राम्दी प्रहरी चौकी र स्थानीय बासिन्दाले खोजी गरेपनि नदी आसपासको क्षेत्रमा उनी फेला नपरेका हुन् । दुई दिनसम्म शवसमेत नभेटिएपछि आफन्त शोकमा डुबेका छन् ।

बगनासकाली गाउँपालिका–२ पोखराथोकका २६ वर्षीय हरिबहादुर गाहा मलामी गएका बेला राम्दीस्थित नदीमा बेपत्ता बनेका हुन् । नदी किनारामा कपडा र मोबाइल राखेर नुहाउन गएका उनी हराएपछि प्रहरीलाई मलामीले खबर गरेका थिए ।

हजुरआमाको मलामी गएको, दाहसंस्कारपछि नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक अवोधकिशोर ओझाले बताउनुभयो ।

गाहाको राम्दी प्रहरी चौकीको नेतृत्वमा अहिले नदी आसपासको क्षेत्रमा खोजी कार्य भइरहेको भएपनि दुई दिनसम्म अझै भेटाउन सकिएको छैन । कालीगण्डकी नदीमा नुहाउने क्रममा बगाएर ज्यान गुमाउने क्रम अझै रोकिएको छैन ।

प्रकाशित : १६ कार्तिक २०७४, बिहिबार ००:००