२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

शक्तिपीठमा दर्शनार्थीको भीड



राजविराज, १० असोज (रासस) : सप्तरी जिल्लामा तेस्रो चरणको निर्वाचन सकिएपछि बडादशैँका अवसरमा जिल्लामा रहेको दुई शक्तिपीठसहित धार्मिकस्थलमा श्रद्धालु भक्तजनको चहलपहल बढेको छ ।

पूर्वाञ्चलकै प्रसिद्ध छिन्नमस्ता शक्तिपीठ र भारदहमा रहेको कंकालनी भगवती मन्दिरमा भक्तजनको निकै भीड लागेको छ । उक्त मन्दिरमा घटस्थापनादेखि नै ठूलो संख्यामा श्रद्धालु भक्तजन पूजापाठका लागि आउने गरेको छिन्नमस्ता मन्दिरका पीठाधीश एवं मूल पुजारी महाकान्त ठाकुरले बताउनुभयो ।

शुरुमा असोज २ गते स्थानीय तह निकायको निर्वाचन परेको हुनाले भक्तजनको संख्यामा कमी आए पनि निर्वाचन सकिएपछि अहिले दिनहँु हजारौँको संख्यामा भगवतीको दर्शन एवं पूजापाठका लागि भक्तजन आउने गरेका छन् ।
त्यस्तै सदरमुकाम राजविराजमा रहेको राजदेवी र कंकालनी भगवती मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लाग्ने गरेको हनुमानगर कंकालनी नगरपालिका–२ का प्रवेश यादवले बताउनुभयो ।

भारतबाट समेत लाखौँको संख्यामा दैनिक छिन्नमस्ता र कंकालनी मन्दिरमा दर्शनार्थी आउने गरेको बताइएको छ । विजयादशमीको अवसरमा छिन्नमस्ता भगवती र कंकालनी मन्दिरमा बोकाको बलिसमेत दिइने गरेको छ । भारतको विहार र नेपालको राजधानी काठमाडौँसहित विभिन्न ठाउँबाट समेत दर्शनका लागि भक्तजन यहाँको शक्तिपीठमा आउने गरेकाले मन्दिरमा घुइँचो लागेको पाइएको छ ।

घटस्थापनाका दिन मन्दिरमा गहुँ र जौको जमरा राखी विजयादशमीको दिन माता भगवतीलाई अर्पण गरी प्रसादका रुपमा लगाइने गरेको छ । गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्यलाभ हुने पौराणिक मान्यता रहेको पं रामकुमार शास्त्रीले बताउनुभयो ।

“नौ रात्रिसम्म पूजा गरेर अंकुरित जमराको रस बनाएर खानाले विभिन्न रोग निको हुन्छ, त्यस्तै निधारमा टीका लगाएर जमरा शिरमा राख्दा शिरको पीडा र मानसिक अशान्ति दूर हुन्छ”, उहाँले भन्नुभयो ।

प्रकाशित : १० आश्विन २०७४, मंगलबार ००:००