१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

दुर्घटनामा मृत्यु सबैको नाम ठेगाना सार्वजनिक, सडक सुधार गर्न निर्देशन प्रशासनको निर्देशन



त्रिशूली (नुवाकोट), २५ भदौ । नुवाकोटमा हिजो भएको सडक दुर्घटनामा मृत्यु भएका सबैको नाम र ठेगाना सार्वजनिक भएको छ ।

काठमाडौँबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस टोखा–छहरे सडक खण्डको नुवाकोटको शिवपुरी–७ ठाना भञ्ज्याङमा बा१ख ६३४८ नं को दुर्घटनामा पर्दा सात जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

दुर्घटनामा तादी गापा–३ की २१ वर्षीया शशी बोगटी, तादी गापा–५ की ४५ वर्षीया लक्ष्मी न्यौपाने, सोही वडाकी ६७ वर्षीया ठूलीमाया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका क्रममा सूर्यगढी गापा–५ माछापोखरीका २३ वर्षीय दिनेश श्रेष्ठ, पञ्चकन्या गापा–४ का ५४ वर्षीय लालबहादुर तामाङ र शिवपुरी गापा–८ की ३७ वर्षीया उजेली तामाङको उपचारका क्रममा धापासीस्थित ग्रिनसिटी अस्पतालमा निधन भएको हो ।

यस्तै, तादी गापा रालुकाकी २२ वर्षीया सविना तामाङको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनापछि फरार रहेका चालकलाई अझै पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । घटनास्थल हेर्दा चालकको लापर्बाही वा बसको खराबी देखिने प्रहरी निरीक्षक भट्टराई बताउनुभयो । उहाँका अनुसार घुम्तीमा बसलाई नमोडी सिधै भिरमा हालिएको देखिन्छ । कि चालकले मोड्न बिर्सिए वा मोड्ने क्रममा स्टेयरिङले काम नगरी बस खसेको हुनुपर्छ ।

सडकदेखि १०० मिटर तल पुगेको बसले स्थानीय सीता तामाङको दुईतले घरसमेत भत्काएको छ । घर भत्किँदा घरधनी तामाङ पनि घाइते हुनुभएको छ । घाइतेहरुको ग्राण्डी अस्पताल र ग्रीनसिटीमा उपचार भइरहेको छ । घाइतेमध्ये मेघाङ गापा– ५ का ५० वर्षीय इन्द्रमान मानन्धरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका सडकको मर्मतका लागि डिभिजन सडक कार्यालयलाई निर्देशन दिएको छ ।

दशैँको मुखमा सडक दुर्घटनाले मानवीय क्षतिसमेत भएपछि बर्खाका कारण भत्किएका सडक तत्काल मर्मत गरी सहज यातायात सञ्चालन गराउन डिभिजन सडक कार्यालयलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले बताउनुभयो ।

“हिजो दुर्घटना भएको टोखा छहरे सडक आयोजनालाई पनि उक्त सडकको चाँडो काम गर्न र तत्कालका लागि अप्ठ्यारा ठाउँमा सुधार गर्न निर्देशन दिएका छौँ”– उहाँले भन्नुभयो “जिल्लाको सबैतिरको सडकलाई तत्काल मर्मत गराउन र बसमा क्षमताभन्दा बढी यात्रु राख्न रोक्ने निर्णय भएको छ ।”

प्रकाशित : २५ भाद्र २०७४, आइतबार ००:००