२३ बैशाख २०८१, आइतबार । May 6, 2024

मुख्य खबर

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै



बैतडी, २२ भदौ । गत पुसदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य विकास समितिमार्फत ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम बैतडीमा प्रभावकारी बन्दै गएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले तुलनात्मकरुपमा बीमा कार्यक्रम प्रभावकारी बनेको जनाएकोे छ । भौगोलिक कठिनाइ, गरिबी, नागरिकको चेतनास्तर लगायतका चुनौतीका बाबजुद पनि बीमा कार्यक्रममा नागरिकको आकर्षण देखिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका प्रबन्धक जनक साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो, “थुप्रै चुनौतीका बीच हामीले नागरिकलाई विश्वासमा लिन सफल भएका छौँ ।” गरिबका लागि स्वास्थ्य बीमा बढी आवश्यक हुने भन्दै सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भुवन पौडेलले बीमा गराएर पैसाको अभावमा उपचारबाट वञ्चित हुनुपर्ने समस्याबाट मुक्त हुन सबै नागरिकलाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “बीमा सबैभन्दा बढी गरिबकै लागि आवश्यक छ, त्यसैले दुई हजार ५०० मा ५० हजारको स्वास्थ्य उपचार लिन नछुटाऔँ ।”

विपन्न वर्गको स्वास्थ्य सेवामा पहुँच पु¥याउन बीमा शुरु गरिएकाले निम्न आयस्रोत भएकाले नछुटाई बीमा गर्नुपर्ने स्वास्थ्य सुरक्षा विकास समितिका दर्ता अधिकारी विष्णुदत्त जोशीले बताउनुभयो । “स्वास्थ्य बीमा धनी–गरिब सबैका लागि लाभदायी बन्छ,” उहाँले भन्नुभयो, “विपन्न वर्गका परिवारले बीमा नछुटाई गर्नुपर्छ ।” गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बीमा लागू भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ ।

६२७ परिवारको स्वास्थ्य बीमा

बैतडीमा हालसम्म ६२७ घरपरिवारका तीन हजार ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् भने ३२० जनाभन्दा बढीले बीमा पछिको उपचार सेवा लिएका छन् ।

गत पुसदेखि जिल्लामा स्वास्थ्य बीमा लागू भएपछि गरिब, स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणले सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् । प्रत्येक परिवारमा पाँच जनासम्मका लागि रु दुई हजार ५०० र पाँचजना भन्दा माथिको सङ्ख्या भएमा थप रु ४२५ शुल्क लाग्ने गरेको छ ।

जिल्लाबाट रु १६ लाख ४७ हजार ८४५ प्रिमियम संकलन गरिएको छ । बीमा गरेपछि स्थानीयवासीले एक वर्षसम्म बीमा गरेको परिवारको सदस्यलाई रु ५० हजारसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिनेछ । तर त्यस्तो सेवा भने समितिले तोकेको स्वास्थ्य संस्थाबाट मात्रै लिन सकिन्छ ।

तोकिएका स्वास्थ्य संस्थामा उपचार सेवा लिन असहज

बैतडीमा ७० जना दर्ता सहयोगीलाई तालिम दिएर घरदैलोमा पठाइएको छ । तीमध्ये ६७ जना दर्ता सहयोगी मात्रै क्रियाशील रहेका छन् । तर अझै लक्ष्यअनुसार बीमा गर्न नसकेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ ।

ग्रामीण क्षेत्रमा गरिबी, चेतनाको अभाव आदि कारणले स्वास्थ्य बीमा गराउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि हुन नसकेको दर्ता अधिकारी जोशीले बताउनुभयो । तोकिएका स्वास्थ्य संस्था टाढा भएकाले बीमा गरेका नागरिकलाई उपचार सेवा लिन गाह्रो भएको छ । केही स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको गुनासोसमेत आएको स्वास्थ्य सुरक्षा विकास समितिले जनाएको छ ।

सूचीकृत स्वास्थ्य संस्थासम्म सहज रुपमा पहुँच नहुँदा सोचेअनुरुप सर्वसाधारणले बीमा गर्न सकेका छैनन् । गाउँमा सम्झाई बुझाई गरे पनि अधिकांशले बीमाङ्क खेर जाने डरले बीमा नगर्ने गरेको दर्ता अधिकारी जोशीले बताउनुभयो । पछिल्लो समय बीमा गर्नेको सङ्ख्या तुलनात्मक रुपमा बढेको उहाँको भनाइ छ ।

जिल्ला अस्पताल, पाटन र मेलौली प्राथमिक स्वास्थ्य केन्द्र, डडेल्धुराको उपक्षेत्रीय अस्पताल, दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रथम सेवा विन्दुका रुपमा राखिएको छ । दोस्रो रिफरल विन्दुका रुपमा कोहलपुर मेडिकल कलेज, भेरी अञ्चल अस्पताल र काठमाडौँका नौवटा अस्पताल तोकिएको छ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००