१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

आयोडिनयुक्त नूनको उपभोग बढ्दो



धनगढी, २२ भदौ । सुदूरपश्चिम ७ नं प्रदेशमा आयोडिनयुक्त धुलो तथा ढिके नूनको प्रयोग बढ्दै गएको छ । जनचेतानाको कमीका कारण विगतमा आयोडिन तत्व नभएको ढिके नून प्रयोग गर्दै आएका स्थानीय बासिन्दा हाल आयोडिनको महत्वबारे थाहा पाएपछि अयोडिनयुक्त ढिके र धुलो नून प्रयोग गर्न थालेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढी शाखाका अनुसार डेढ दशकअघि सम्म निकै कम परिमाणमा खपत हँुदै आएको आयोडिन नून हाल ७ नं प्रदेशका अधिकांश बासिन्दाले उपभोग गर्न थालेका छन् । “अयोडिन भएको ढिके नून २० र प्याकेट नून ८० प्रतिशतले उपभोग गर्न थालेका छन्”, कार्यालयका सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले भन्नुभयो, “कञ्चनपुरका सीमावर्ती बेलौरी र ब्रह्मदेव लगायतका क्षेत्रबाट भने केही परिमाणमा खान नहुने ढिके नून अबैधरूपमा भित्रिने गरेको छ ।”

पहाडी क्षेत्रका अछाम, बाजुरा, दार्चुला र बझाङ जिल्लामा सरकारले अनुदानमा प्रतिकिलो रु नौमा अयोडिन नून बिक्री–वितरण गर्दै आए पनि अन्य जिल्लामा भने अनुदान दिइएको छैन । अनुदानमा नून बिक्री–वितरण नहुने डोटी, डडेलधुरा, बैतडी लगायतका जिल्लाका कतिपयले भने भारतीय सीमा क्षेत्रबाट भित्रिने गुणस्तहीन नून उपभोग गर्ने गरेको पाइएको पाण्डेले बताउनुभयो ।

कार्यालयले आव ०७३÷७४ मा आयोडिन ढिके नून ७८ हजार र प्याकेट नून ९२ हजार क्विन्टल बिक्री–वितरण गरेको छ । सात नं प्रदेशमा वार्षिक नूनको माग करिब एक लाख ७५ हजार क्विन्टल रहेको छ । कर्पोरेशनले ढिके नूनको खपत घटाई आयो नूनको उपभोग बढाउने लक्ष्य लिएकोे छ । नेपालमा आयोडिन प्राप्त हुने खाद्य वस्तु नूनबाहेक अरू नभएको बताइन्छ । आयोडिन नभएको ढिके नूनको प्रयोगले मानिसमा गलगाँड, सुस्तः मनस्थिति, लाटो–लठेब्रोजस्ता समस्या देखिने गर्दछ ।

प्रकाशित : २२ भाद्र २०७४, बिहिबार ००:००