२२ बैशाख २०८१, शनिबार । May 5, 2024

मुख्य खबर

बोन्स्री’ उपन्यासमाथि परिचर्चा



काठमाडौँ, १७ भदौ । साहित्यकार बलदेश शर्मा मजगैँयाको ‘बोन्स्री’ उपन्यासको विषयमा परिचर्चा गरिएको छ ।

जननायक बिपी कोइराला मेमोरियल ट्रष्टले आज यहाँ आयोजना गरेको कार्यक्रममा बोन्स्री उपन्यासको विविध कोण र विषयमाथि विभिन्न साहित्यकार तथा समालोचकले चिरफार गर्नुभएको थियो । बोन्स्री उपन्यास राजनीतिज्ञ एवम् लेखक शर्माको ११ औँ कृति हो ।

सो अवसरमा आख्यानकार डा ध्रुवचन्द्र गौतम, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, प्राज्ञ अमर गिरि, डा ज्ञानु पाण्डे, समीक्षक बलराम अधिकारी, पत्रकार कृष्णमुरारी भण्डारी, समीक्षक जगत उपाध्याय र लक्ष्मण गौतमलगायतले नेपाली आख्यानमा पूर्वीय आध्यात्मवादी चिन्तनलाई प्रतिनिधित्व गरेको समान धारणा व्यक्त गर्नुभएको थियो ।

उहाँहरुले वैदेशिक रोजगारीमा गएको विवेक नामको नेपाली र विदेशी युवती बोन्स्री पात्र रहेको उपन्यासले समग्रमा असल व्यक्ति र समाज परिकल्पना गरेको बताउनुभयो ।

राजनीतिज्ञ, इतिहासकार एवं जननायक बिपी कोइराला मेमोरियल ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांसद तथा ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले कृतिमाथिको समीक्षा साहित्य र स्रष्टाको विविध पक्षलाई उजिल्याउन सार्थक हुने बताउनुभयो ।

सुन्दर फूल वा अति सुन्दरी अर्थ दिने थाई शब्द बोन्स्रीलाई नारी पात्रका रुपमा प्रस्तुत गरिएको उपन्यासमाथि टिप्पणी गर्दै समीक्षक बलराम अधिकारीले अस्तित्ववाद, पुरुषभित्र रहने नारी चेत र नारीभित्र हुने पुरुष चेतको संयोजन, जसलाई पूर्वीय चिन्तनले अर्धनारेश्वर भनेको छ, त्यो यो कृतिमा भेटिन्छ भन्नुभयो ।

पश्चिमाले पनि यस चिन्तनलाई स्वीकार गरेको जानकारी दिँदै व्यक्ति, परिवार र समाजलाई प्रस्तुति दिएको यस उपन्यासले जीवनको सान्निध्यतापछि पनि तस्बिर वा श्रद्धापूर्वक पितृसँग जोडिने पूर्वीय परम्पराको अनुभूति दिएको उहाँले स्पष्ट गर्नुभयो ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००