१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा निर्वाचन सम्पन्न गराउन दलहरु प्रतिबद्ध



धनुषा, १७ भदौ । तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गराउनुपर्ने आवश्यकतामाथि राजनीतिक दलका प्रतिनिधिहरुले जोड दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज जनकपुरमा आयोजना गरेको राजनीतिक दलका प्रतिनिधिसँगको अन्तरक्रियामा उनीहरुले भन्नुभयो – “स्वतन्त्र, भयरहीत र मर्यादित वातावरणमा चुनाव सम्पन्न गराउन सबै दलले आचारसंहिताको पूर्ण पालन गर्न सक्नुपर्दछ । ”

सो अवसरमा धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जिल्लाको ९२९ पदमा हुन लागेको स्थानीय तह निर्वाचनमा सबै राजनीतिक दलले आचारसंहिता पालन गर्नुपर्नेमा जोड दिदैं स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि आचारसंहितालाई सम्बन्धीत सबै पक्षले पूर्ण रुपमा पालन गर्नुपर्ने बताउनुभयो ।

विगतमा भएको स्थानीय तह निर्वाचनका क्रममा बदर मतपत्र बढी देखिएको उल्लेख गर्दै उहाँले मतदाताले छिटो, छरितो र सहजरुपमा मतपत्र बुझ्न र बुझाउनका लागि पनि राजनीतिक दलहरु सक्रियरुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन अधिकृत रामहरि काफ्लेले यसपालि निर्वाचनमा मतपत्र लामो भएकाले मतदाताका लागि जटिल देखिएको भन्दै मतदाता शिक्षामा बिशेष जोड दिन राजनीतिक दललाई आग्रह गर्नुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईले निर्वाचन अबधिभर उच्च सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिदै. निर्धक्क भएर चुनाव प्रचारप्रसार तथा मतदान गर्न सम्बन्धीत सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, एकीकृत राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, नेकपा माले, नेकपा संयुक्त, नेपाली जनता दललगायतका प्रतिनिधिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गराउन आफू र आफ्ना दल सक्रिय भएर लाग्ने विश्वास दिलाउनुभयो ।

प्रकाशित : १७ भाद्र २०७४, शनिबार ००:००