१९ बैशाख २०८१, बुधबार । May 2, 2024

मुख्य खबर

वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँच गैँडा



चितवन, १६ भदौ । नेपालबाट बाढीले बगाएर लगेका एकसिंगे गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँचवटा रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारका अनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैँडा पुगेका छन् । रिजर्भबाट बिहीबार सातौँ गैँडा उद्धार गरी चितवन राष्ट्रिय निकुञ्ज ल्याउने क्रममा सँगै आउनुभएका अमितकुमारले कम्तीमा पाँचवटा गैँडा विभिन्न क्षेत्रमा देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सीमा क्षेत्रबाट करिब ७० किमी पर उत्तर प्रदेशको पिप्रासीमा एउटा, वाल्मीकि नगर क्षेत्रमा दुईवटा, सीमाबाट ४० किमी पर मदनपुरमा अर्काे एउटा गैँडा भेटिएको छ । यसबाहेक नेपालको नर्सहीबाट गण्डक नहर पार गरेर दुईवटा गैँडा भारततर्फ पुगेका छन् भने अन्य स्थानमा पनि गैँडा भएको हुनसक्ने उहाँले बताउनुभयो । ती दुई गैँडा भने सीमा वारपार गरिरहेका छन् । तीबाहेक नै कम्तीमा पाँच गैँडा भारतमा रहेको अनुमान गरिएको छ ।

ती गैँडालाई २०० सुरक्षाकर्मी र कर्मचारीले सुरक्षा दिइरहेका छन् । उहाँका अनुसार २० वटा गाडी, दुईजना डिपुटी डाइरेक्टर र पाँचजना रेञ्जर गैँडाको सुरक्षामा खटिएका छन् । उहाँले भन्नुभयो, “संरक्षणको क्षेत्रमा इतिहासमा पहिलोपटक नेपाल र भारतको संयुक्त प्रयासमा यो काम भइरहेको छ ।”

गैँडा नियन्त्रणमा लिन अरु १५० जना भारतीय कर्मचारी र सुरक्षाकर्मी दिनहुँ खट्ने गरेको पनि उहाँले बताउनुभयो । रिजर्भका अन्य क्षेत्रमा पनि गैँडा रहेको आशंकामा खोजी कार्यलाई तीव्रता दिइएको छ । एक दिन भारततर्फ देखिने र अर्काे दिन नेपालतर्फ आइपुग्ने हुँदा यकिन कति गैँडा भारतमा छन् भन्न नसकिएको पनि अमित कुमारले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बिहीबार एउटा पूर्ण वयस्क पोथी गैँडा निकुञ्जमा ल्याइएको छ । वाल्मीकि टाइगर रिजर्भमा डार्ट गरेर उक्त गैँडा ल्याइएको हो ।

यो गैँडासहित भारतबाट उद्धार गरी ल्याइएका गैँडाको संख्या सात पुगेको छ । नेपाल–भारतको सिमानाभन्दा १५ किमी टाढा भारतको भेडीपारिमा पुगेको गैँडाको उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो ।

गैँडाको उद्धारका लागि तीनवटा हात्तीसहित ३० जना नेपाली प्राविधिक टोली परिचालन गरिएको छ । वाल्मीकि टाइगर रिजर्भ नेपाली सीमा क्षेत्रको भारतको आरक्ष हो जहाँ दुर्लभ वन्यजन्तु गैँडा भने पाइँदैनन् । वनको संरचनाको हिसाबले त्यो ठाउँ गैँडाका लागि उपयुक्त मानिँदैन ।

बाढीपछिको १५ दिनमा चितवन राष्ट्रिय निकुञ्जबाट बगाएका १० वटा गैँडाको उद्धार गरिएको छ । जसमध्ये सात भारतबाट र तीन नेपालका त्रिवेणी क्षेत्रबाट उद्धार गरिएको हो । बाढीकै कारण दुईवटा गैँडा मृतावस्थामा भेटिएका थिए ।

चितवन निकुञ्जको आसपास हँुदै बग्ने राप्ती, रियु र नारायणी नदीले गैँडालाई बगाएको थियो ।

उद्धार गरिएका गैँडालाई चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरबाट छाडिएको छ ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००