२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्घ



बैतडी, २७ असार । लगातारको वर्षाका कारण बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्घ भएको छ ।

खोड्पे – मोतीनगर सडकखण्डअन्तर्गत पाटन नगरपालिका– ८ झौलेक नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्घ भएको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । पहिराले सडक अवरुद्घ हुँदा बझाङबाट काठमाडौँ, कञ्चनपुर, कैलाली र बैतडीका लागि छुटेका सवारी साधन बन्द भएका छन् ।

सडक अवरुद्घ भएपछि बझाङका लागि छुटेका गाडी तथा यात्रु पनि बीच बाटामै अलपत्र परेका छन् । अवरुद्घ सडक खुलाउन प्रयास भइरहे पनि ठूलो पहिरो भएकाले पन्छाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालय पाटनबाट पहिरो पन्छाउने काम भइरहेकाले साँझसम्म सडक पुनः सञ्चालन हुन सक्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको तमैल बजार नजिक जाल्याबगरमा पहिरो जाँदा त्यहाँ पनि सडक अवरुद्घ भएको बताइएको छ ।

यसैबीच बैतडी, देहिमाण्डौँदेखि गिरेगडा सडक पनि अवरुद्घ भएको छ । उक्त सडक फराकिलो गर्ने काम भइरहेकाले अवरुद्घ भएको से १ ज १३२ जिपका चालक शिवराज जोशीले जानकारी दिनुभयो । उक्त सडकको ढकासदेखि सैनीखानसम्म फराकिलो पार्ने काम भइरहेको छ ।
उक्त सडक हिलाम्ये हँुदा पैदल यात्रुलाई हिँड्न समस्या भएको स्थानीयवासी प्रकाश जोशीले जानकारी दिनुभयो । बैतडीका अन्य गामीण कच्ची सडक पनि अवरुद्घ भएका छन् ।

विद्यार्थीलाई समस्या

डिलाशैनीमा पहिराबाट बाटो अवरुद्घ हुँदा विद्यार्थीलाई समस्या भएको छ । डिलाशैैनी गाउँपालिका– १ कोटपेटराको जुकानी भन्ने ठाउँमा पहिरो जाँदा विद्यार्थीलाई समस्या भएको स्थानीयवासी रवीन्द्र धामीले जानकारी दिनुभयो । बाटो अवरुद्घ भएपछि मण्डेश्वरी माविका विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ । विद्यार्थीको त्रैमासिक परीक्षा चलिरहेको र बाटो अवरुद्घ हुँदा तिनले परीक्षा दिन समेत नपाएको उहाँले बताउनुभयो ।

जुकानीमा पुरानो ठूलो पहिरो रहेकाले हालको लगातारको झरीका कारण पुनः खस्न थालेको हो । पहिराका कारण डिलाशैनी – १ का दुनी, पारिखेत, लेक, सिराड र ननरगाड तथा वडा नं २ पन्तौडाका बासिन्दालाई आवतजावत गर्न समेत समस्या भएको बताइएको छ । यस्तै लगातारको वर्षाका कारण सुर्नया गाउँपालिका– ७ का किसानले लगाएको मकैबाली ढलेर नष्ट भएको स्थानीयवासी राकेश मडैले जानकारी दिनुभयो ।

विद्युत् सेवा अवरुद्घ

वर्षाका कारण बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्घ भएको छ । आइतबारदेखि अवरुद्घ भएको विद्युत् सेवा तीन दिनसम्म पनि सुचारु नहँुदा समस्या भएको छ । तीन दिनदेखि विद्युत् सेवा अवरुद्घ हुँदा मोबाइल चार्ज गर्न समेत समस्या भएको दशरथचन्द नगरपालिका– १ गुरुखोलाका मिलन टेरले जानकारी दिनुभयो ।
विद्युत् सेवा अवरुद्घ भएपछि बढीजसो सञ्चारमाध्यमलाई समस्या भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवले कैलालीको फल्टुडेमा ६६ केभी प्रसारण लाइनमा क्षति भएकाले विद्युत् पुनःसञ्चालन गर्न प्रयास भइरहेको बताउनुभयो ।

प्रकाशित : २७ असार २०७४, मंगलबार ००:००