१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

मुख्य खबर

अविरल वर्षाका कारण वस्ती जोखिममा



पोखरा, १८ असार । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण फुसे्र खोलामा आएको बाढीले पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ र २१ लाई जोडने दोविल्लाको पक्की पुल र सो क्षेत्रको वस्ती जोखिममा परेको छ ।

खोलाको बढ्दो कटानसँगै घर जोखिममा परेपछि स्थानीय धरमबहादुर क्षेत्री विस्थापित भएको छ भने भूपेन्द्र गिरी, कमलनारायण गिरी, सरस्वती छन्त्याल र प्रताप रानाका घर उच्च जोखिममा परेका छन् ।

खोलाले पूर्वपट्टिको भागलाई कटान गरी सडकसमेत भत्काउँदा खोलाको पश्चिमस्थित भरतपोखरीका बागमारा, मनियलडाँडा, बर पाण्डेथुम, निर्मलपोखरीस्थित फोक्सिङ, शिवालयलगायत स्थानमा जाने सार्वजनिक यातायात सेवा बन्द हुँदा उक्त क्षेत्रका स्थानीय प्रभावित भएका छन् ।

बाढीले ओशो ध्यान केन्द्र, सहारा एकेडेमी जस्ता संस्थाका साथै उक्त क्षेत्रका २५ घर जोखिममा रहेको दोविल्ला टोल विकास संस्थाका अध्यक्ष गौतम गिरीले जानकारी दिनुभयो । कटानका कारण उक्त क्षेत्रमा दुईवटा विद्युत्को पोल भाँचिएका छन् भने थप घटना नहोस् भन्ने हेतुले सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत वर्ष पनि खोलाले कटान गरे पछि सरकारले संरक्षणका लागि रु एक करोड ८५ लाखको लागतमा कटान नियन्त्रणको प्रयास गरे पनि समयमा काम हुन नसक्दा झन समस्या थपिएको हो ।

कटान नियन्त्रणका लागि लगातार दुई पटकसम्म बोलपत्र आह्वान गरिए पनि कसैले निवेदन नदिएको र तेस्रो पटक मात्र बोलपत्र आह्वानको निवेदन परेका कारण काममा ढिलाई भएको सडक डिभिजन कार्यालय, पोखराका इन्जिनियर शङ्कर पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००