१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

मुख्य खबर

सप्तरीको जनजीवन सामान्य बन्दै



सप्तरी, १८ असार । जिल्ला दैवीप्रकोप उद्धार समिति सप्तरीको आज राजविराजमा बसेको आकस्मिक बैठकले सप्तरी जिल्लामा विभिन्न खोलामा आएको बाढी पहिरोले क्षतिग्रस्त भएका संरचना निर्माण गरी बाढी नियन्त्रण गर्नुपर्ने निर्णय गरेको छ ।

उद्धार समितिका अध्यक्ष एवम् सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बसको सो बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पु¥याउन र अनुगमनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले बाढीबाट प्रभावित र पीडितको सही तथ्याङ्क सङ्कलन गर्ने र सहयोगका लागि स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा सप्तरी जिल्लाका विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय पीडित परिवारका सदस्य, सरकारी निकायका प्रमुखलगायत बाढी नियन्त्रणसम्बन्धी कार्यालयका प्रमुखको सहभागिता थियो ।

बैठकमा सहभागीले पीडित परिवारलाई खाद्यान्न, औषधि उपचार, स्वच्छ खानेपानी उपलब्ध गराउन माग गरेका थिए ।

सो अवसरमा पूर्वसांसद सूर्यनाथ यादवले घटनाभन्दा मिडियाबाजी बढी भएको बताउँदै सप्तरीको नदी नियन्त्रण, बाढीले भत्केका सडक, विद्युत पोल तत्काल मर्मत गरी सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

यसैबीच एक्कासी आएको बाढीले जलमग्न भएको जिल्लाका विभिन्न स्थानका स्थानीयको जनजीवन आज दिउँसोबाट सामान्य बन्दै गएको छ ।

घर आँगनमा पसेको पानीको स्तर घट्दै गएको छ भने हिलो भने यथावतै छ । तीन फिटसम्म घरमा आँगनमा जमेको पानी अहिले हटिसकेको छ । बाढीबाट सप्तरीको राजविराज नगरपालिकाको वडा नंं ९ र १०, मैनाकडेरी, तिलाठी, पौवा, मसरनिया, बिब्राही, रायपुर, लोनिया, रुपनी, पकडी, मलहनियालगायतका एक दर्जन गाउँ डुवानमा परेका थिए ।

घटनामा परी इलाम घर भई बेलही भन्सारमा खटिएका सशस्त्र प्रहरीका हवल्दार सुमन आचार्यको मृत्यु भएको थियो । बाढी हेर्न जाँदा हिलोमा खुट्टा भासिएर उनको मृत्यु भएको थियो ।

प्रकाशित : १८ असार २०७४, आइतबार ००:००