१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

ग्लोबल

पहिरोले घर बगाउँदा दुईको मृत्यु, दुई बेपत्ता



चरिकोट, १४ असार । दोलखा भिमेश्वर नगरपालिका–९ लाकुरीडाँडास्थित कुतकुते भन्ने स्थानमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षिया शान्ति थामी र ७० वर्षीया लाटी थामी रहेका छन् । नजिकैको क्याङथली खोलाबाट दुबै जनाको शब निकालिएको छ ।

पहिरोमा पुरिएर अन्य दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मृतक शान्ति थामीका छोरी १५ वर्षिया रोशनी थामी र १२ वर्षीय रितु थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

स्थानीयको सहयोगमा नेपाल प्रहरी र दोलखास्थित नेपाली सेनाको रणभिम गणले बेपत्ता दुबै जनाको खोजीकार्य गरिरहेको जिप्रका दोलखाले जनाएको छ ।

घरमा सँगै सुतिरहेका शान्ति थामीका श्रीमान् मङ्गले थामीको पेट दुखेर राति करिब साढे १ बजेतिर घर नजिकै रहेको चर्पीमा जाँदा उहाँ पहिरोबाट बाच्न सफल भएको बताइएको छ । उनले रुँदै भने चर्पीबाट फर्कँदा घरसहित परिवार नै पहिरोले बगाइसकेको रहेछ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरासहितको टोलीले घटनास्थलको स्थलगत अनुगमन र निरीक्षण गरी मृतकका परिवारलाई राहत समेत उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट घटनास्थलमा पुगेका चिकित्सकसहितको टोलीले शब परिक्षण गरी आजै परिवारका आफन्त र छिमेकीको जिम्मामा लगाई दाहसंस्कार गर्न भनिएको प्रहरी नायब निरीक्षक कार्कीले बताउनुभयो ।

कुतकुतेलगायत गोगने, आहालडाँडा, डाडाँगाउँ र लामाकोलका ९५ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोको उच्च जोखिम बारे सरकारी संयन्त्रलाई थाहा हुँदा हुँदै पनि सुरक्षित बस्तीका लागि पहल नगरिएको गुणासो स्थानीयको छ ।

प्रकाशित : १४ असार २०७४, बुधबार ००:००